काठमाडौं िनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले निर्वाचन आयोगले संविधान, कानुन र पार्टी विधानविपरीत निर्णय गरे देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले कांग्रेसको आधिकारिकता अस्वीकार गरे वा चुनाव चिह्न तथा नाम अर्को समूहलाई दिए पार्टी देशव्यापी आन्दोलनमा उत्रिने स्पष्ट पारे।
‘निर्वाचन आयोग गलत बाटोमा जान्छ भन्ने विश्वास हामीलाई छ,’ खड्काले भने, ‘तर यदि संविधान, कानुन र पार्टी विधानविपरीत निर्णय भयो भने नेपाली कांग्रेस गाउँ–गाउँ, वडा–वडाबाट चारतारे झण्डासहित आन्दोलनमा उत्रिन्छ।’उनले त्यस्तो अवस्था आए पार्टीको आह्वानमा आन्दोलनमा सहभागी हुन देशभरका नेता, कार्यकर्ता तथा भ्रातृ–शुभेच्छुक संघ–संस्थालाई तयार रहन निर्देशन दिए।
पार्टीविरुद्ध कुनै पनि किसिमको षड्यन्त्र वा अन्यायपूर्ण निर्णय स्वीकार्य नहुने खड्काको भनाइ थियो। कांग्रेस विभाजनपछि निर्वाचन आयोगमा आधिकारिकतासम्बन्धी विवाद विचाराधीन रहेको सन्दर्भमा उनले आयोगले निष्पक्ष, विधिसम्मत र संवैधानिक निर्णय गर्ने अपेक्षा पनि व्यक्त गरे।
तर बाहिर चलेका चर्चा–परिचर्चाले आशंका उत्पन्न भएकाले पार्टी सतर्क रहेको उनले बताए। ‘हामीमाथि हुने कुनै पनि गलत निर्णयविरुद्ध आवश्यक परे प्रतिकारमा उत्रन पार्टीले आह्वान गर्छ,’ खड्काले भने, ‘त्यसका लागि सबै नेता, कार्यकर्ता र शुभचिन्तक तयार रहनुपर्छ।’ निर्वाचन नजिकिँदै गएको अवस्थामा कांग्रेसभित्रको आधिकारिकता विवादले राजनीतिक वृत्तमा चासो र तरंग सिर्जना गरेको छ।