काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले निर्वाचन आयोगको पछिल्लो निर्णयसँगै पार्टीमा आठ दशक लामो पुस्तान्तरण र रूपान्तरणको प्रक्रिया औपचारिक रूपमा सुरु भएको बताउनुभएको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण निर्वाचन आयोगले अद्यावधिक गरेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उहाँले आजको दिनलाई कांग्रेस इतिहासको ‘ऐतिहासिक दिनका रूपमा चित्रण गर्नुभएको हो ।
उहाँले विगतका सबै मतभेद, तिक्तता र समूहगत विवादलाई बिर्सिएर विशेष महाधिवेशनले दिएको म्यान्डेटअनुसार पार्टी अघि बढ्ने स्पष्ट गर्नुभयो ।
आन्तरिक विवाद टुङ्गिएसँगै अबको सम्पूर्ण ध्यान आगामी आम निर्वाचनमा केन्द्रित गर्नुपर्नेमा उहाँको जोड छ । सहमहामन्त्री संग्रौलाले आगामी फागुन २१ गते हुने आम निर्वाचनलाई सफल बनाउन सबै नेता–कार्यकर्तालाई जिम्मेवार र सक्रिय भूमिका खेल्न आह्वान गर्नुभएको छ
साथै, विशेष महाधिवेशनको प्रक्रियामा विभिन्न कारणले सहभागी हुन नसकेका वा बाहिर रहेका नेता–कार्यकर्तालाई नयाँ संरचनामा समेट्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।