कपिलवस्तु । नेपाली कांग्रेस पार्टीका तर्फबाट कपिलवस्तु क्षेत्र नं. ३ का उम्मेदवार अभिषेक प्रताप शाहले आज औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ताका क्रममा ठूलो संख्यामा उपस्थित नेता–कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूको हर्षोल्लासपूर्ण सहभागिताबीच प्रतापले सबैप्रति विशेष धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।
मनोनयन दर्तासँगै प्रतापले ‘समृद्धि र परिवर्तनको अभियान’ औपचारिक रूपमा प्रारम्भ भएको घोषणा गरेका छन् । उनले माटो, मन र मानिससँग जोडिएको यात्रालाई पुनः जिम्मेवारीमा रूपान्तरण गर्ने दृढ अठोट व्यक्त गर्दै अनुभवको गहिराइ र नयाँ पुस्ताको जोशलाई एकीकृत गर्दै स्पष्ट मार्गचित्रका साथ अघि बढ्ने प्रतिबद्धता जनाए ।
“भाषण होइन, समाधान; वाचा होइन, सहकार्य—यही मेरो राजनीति हो,” भन्दै प्रतापले जनतासँगै बसेर, जनताकै बलमा, सबैका लागि काम गर्ने संकल्पका साथ आजको मनोनयन दर्ता सम्पन्न भएको बताए। उनले राजनीति हल्लाका पछि होइन, सल्लाह र सहकार्यका आधारमा अघि बढ्नुपर्छ ।
युवा पुस्ताको भूमिकाबारे धारणा राख्दै उनले भने, “जेन्जी जति विद्रोही हो, हामी पनि त्यति नै विद्रोही हौं । विद्रोहीले विद्रोहीको कुरा बुझ्छ, तर अब सबै मिलेर निर्माण गर्ने बेला हो ।” नेता शाहले युवाको जोश र पाका पुस्ताको अनुभवलाई समेट्दै हिजो, आज र भोलि—सदैव जनताको सेवामा प्रतिबद्ध रहने स्पष्ट सन्देश दिए ।
उमेदवार शाहले छिट्टै स्पष्ट कार्ययोजना र खाका सहित जनतामाझ उपस्थित हुने जानकारी गराउँदै समृद्ध, समावेशी र उत्तरदायी प्रतिनिधित्वका लागि जनसमर्थनको आह्वान गरेका छन् ।