काठमाडौं– फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पाल्पा क्षेत्र नं. २ यतिबेला तीव्र राजनीतिक चहलपहलको केन्द्र बनेको छ । नेपाली कांग्रेसले आधिकारिक उम्मेदवारका रूपमा अघि सारेका युवा नेता हिमालदत्त श्रेष्ठको उम्मेदवारीसँगै क्षेत्रभर उत्साहजनक माहोल देखिन थालेको छ।
विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय श्रेष्ठलाई उम्मेदवार बनाउने पार्टी निर्णयले स्थानीय युवा, व्यवसायी र सर्वसाधारण मतदातामाझ नयाँ ऊर्जा थपेको छ । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका पूर्व विद्यार्थी नेता रहेका श्रेष्ठ पुराना विद्यार्थी संगठनबाट निस्किएको पुस्ताको प्रतिनिधि मानिन्छन् ।
लामो समयदेखि विद्यार्थी, शिक्षक, पेशाकर्मी र स्थानीयवासीसँग नजिकको सम्बन्ध कायम राख्दै आएका उनी जनतासँग सजिलै घुलमिल हुने, गाउँटोलमा नियमित संवाद गर्ने र समाधानमुखी नेताका रूपमा परिचित छन् । यही कारण उनले क्षेत्रीय राजनीतिमा “युवा तर अनुभवी विकल्प”को पहिचान बनाउँदै गएका छन् ।
यसको ठीक विपरीत, पाल्पा-२ का मुख्य प्रतिस्पर्धी नेकपा एमाले भित्र उम्मेदवार छनोट प्रक्रियामा देखिएको रस्साकस्सीले संगठन कमजोर बनेको संकेत प्रष्ट देखिन्छ । केन्द्रीय शक्ति सन्तुलनका आधारमा टिकट वितरण गर्दा स्थानीय तहमा असन्तोष बढेको र त्यसको प्रत्यक्ष असर पाल्पा-२ मा परेको पार्टीसम्बद्ध स्रोतहरूको भनाइ छ ।
रूपन्देही-२ लाई नै सुरक्षित क्षेत्र ठानेर गइसकेका नेता विष्णु पौडेल पुनः आफ्नो पुरानो क्षेत्र फर्किएपछि पाल्पा-२ को राजनीतिक समीकरण थप अन्योलमा परेको छ । अन्ततः थाकुर गैरेलाई टिकट दिइए पनि त्यसले संगठनमा अपेक्षित उत्साह पैदा गर्न सकेको देखिँदैन । स्थानीय एमाले कार्यकर्ताहरूले पुरानै अनुहार दोहोरिनु, युवाप्रति शीर्ष नेतृत्वको अविश्वास र तल्लो तहका सिफारिस बेवास्ता गरिएको गुनासो गर्दै आएका छन् ।
विश्लेषकहरूका अनुसार यही असन्तोषले कांग्रेसका उम्मेदवार श्रेष्ठलाई प्रत्यक्ष फाइदा पुग्ने सम्भावना बढाएको छ । वैकल्पिक शक्तिको उपस्थितिलाई हेर्दा पनि पाल्पा-२ मा यसपटक मुख्य प्रतिस्पर्धा कांग्रेस र एमाले बीचमै सीमित हुने देखिन्छ । अन्य दलहरूले अघिल्ला चुनावमा परीक्षित तर कमजोर आधार भएका उम्मेदवार अघि सारेको आरोप स्थानीयस्तरमा सुनिन थालेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता नयाँ शक्तिले राष्ट्रिय स्तरमा चर्चा पाए पनि पाल्पा-२ मा संगठनात्मक तयारी कमजोर, स्थानीय मुद्दा बुझेको अनुहारको अभाव जस्ता कारणले ठोस लहर बनाउन नसकेको टिप्पणी भइरहेको छ । यसले परिवर्तन चाहने युवा मतदातालाई कांग्रेसतर्फ आकर्षित गरिरहेको देखिन्छ ।
युवा उम्मेदवार, स्थानीय एजेन्डा र सक्रिय अभियानका कारण पाल्पा-२ मा नेपाली कांग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ सर्वाधिक चर्चित नेतृत्वका रूपमा उभिएका छन् । स्थानीय रोजगारी, सडक र स्वास्थ्य पूर्वाधार, शिक्षा तथा पर्यटन विकाससम्बन्धी एजेन्डालाई गाउँटोलमै पुगेर बुझाउने र सुझाव समेट्ने उनको शैलीले मतदातामाझ सकारात्मक सन्देश प्रवाह भएको छ ।
राजनीतिक विश्लेषकहरू भन्छन एमाले भित्रको आन्तरिक विवाद, निराश कार्यकर्ता, वैकल्पिक शक्तिको कमजोर तयारी र कांग्रेसले अघि सारेको युवा-सक्रिय नेतृत्वको संयोजनले पाल्पा-२ मा हिमालदत्त श्रेष्ठको पक्षमा बलियो चुनावी माहोल तयार भएको छ । यदि यो लहर फाल्गुन २१ सम्म कायम रह्यो र युवापुस्ता सक्रिय रूपमा मतदानमा सहभागी भयो भने श्रेष्ठको विजयको सम्भावना अत्यन्त प्रबल देखिन्छ ।
बजार, कफीशप, गाउँका चौतारी र सामाजिक सञ्जालसम्म फैलिएको बहसमा अहिले एउटै प्रश्न गुञ्जिरहेको छ “नयाँ पुस्तालाई अवसर दिने कि फेरि पुरानै अनुहार रोज्ने?” यही विमर्श, यही परिवर्तनको चाहना र यही भूगोलको भावनाले पाल्पा-२ मा हिमालदत्त श्रेष्ठको पक्षमा बहुमत सुरक्षित हुने संकेत गरिरहेको छ ।