ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको का.वा.(कार्यवाहक) मुख्य सचिवको जिम्मेवारी श्री कृष्णप्रसाद दुलाललाई तोकिएको छ ।
पार्टी सभापति गगनकुमार थापाले माघ २१, २०८२ मा जारी गरेको निर्णयअनुसार दुलाललाई अर्को व्यवस्था नहुनजेलसम्मका लागि उक्त जिम्मेवारी प्रदान गरिएको हो ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५(१०), नियमावली २०७६ को नियम ४६(ग) तथा कर्मचारी नियमावली २०७९ को नियम १४ (क) बमोजिम दुलाललाई केन्द्रीय कार्यालयको प्रशासनिक काम, कर्तव्य र जिम्मेवारी सम्हाल्ने गरी नियुक्त गरिएको पार्टीले जनाएको छ ।
बी.पी. स्मृति भवन, ललितपुरस्थित केन्द्रीय कार्यालयबाट जारी पत्रमा सभापति थापाले दुलालले तोकिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने विश्वास व्यक्त गर्दै जिम्मेवारी पाएकोमा हार्दिक बधाईसमेत दिएका छन् ।
स्थायी ठेगाना शुन्दरहरैचा नगरपालिका–१०, मोरङ रहेका दुलाल लामो समयदेखि पार्टी संगठन र प्रशासनिक व्यवस्थापनमा सक्रिय रहँदै आएका छन् । उनको अनुभवले केन्द्रीय कार्यालयको कामकाजलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।