काठमाडौँ । नेपाली कांग्रेसले पार्टीभित्रको आन्तरिक सबै विवाद मिलिसकेको भन्दै पार्टीका नेता कार्यकर्ता एक ढिक्का भएर निर्वाचनमा होमिएको बताएकाे छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा सानेपामा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले यस्तो बताएका हुन् ।
‘हामी निर्वाचनमा छौ, निर्वाचनको सबैभन्दा ठुलो शक्ति भनेको पार्टी भित्रको एकता हो’, प्रवक्ता चालिसेले भने, ‘पार्टीभित्रका देशभरका विवाद र समस्याहरू मिलिसकेको छ ।’
प्रवक्ता चालिसेले पार्टीको सम्पूर्ण शक्ति देशभरि चुनावी अभियानमा होमिएको भन्दै निर्वाचन प्रचारप्रसारका क्रममा अन्य पार्टीका नेता कार्यकर्ता कांग्रेसमा आवद्द हुने क्रम चलिरहेको र कांग्रेस विजयी बन्ने आधार तय हुँदै गएको बताए ।
कांग्रेसले निर्वाचनकै क्रममा अन्य पार्टीका नेता कार्यकर्ताहरूबाट निर्वाचन आचारसंहिता पालना नगरेको रिपोर्टहरू आएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराएको छ ।
‘खासगरी बालबालिकालाई राजनीतिमा प्रयोग गरेको पाइएको छ त्यसले राम्रो सन्देश दिँदैन । उनीहरूको बालअधिकार र मस्तिष्कलाई प्रयोग गरेर निर्वाचनको उद्देश्यका लागि दुरुपयोग गर्ने कुरा निर्वाचन आचार संहिताभित्र पर्दैन ।’