सुनसरी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसप्रति जनताले गरेको विश्वासलाई अब मतमा रूपान्तरण गर्न आग्रह गरेका छन् ।
मंगलबार सुनसरी निर्वाचन क्षेत्र नम्बर-२ अन्तर्गत झुम्कामा आयोजित नेताकार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले कांग्रेस उम्मेदवार राजीव कोइरालालाई विजयी गराउन अपिल गरे ।
सभापति थापाले भने, “तपाईंहरूले कांग्रेस र मलाई विश्वास गर्नुभएको छ, माया गर्नुभएको छ । अब यही क्षेत्रबाट राजीव कोइराला दाइलाई भोट हालेर जिताइदिनुस्। बाँकी काम पूरा गर्ने जिम्मा मेरो हुन्छ ।”
उनले कांग्रेसले बोलेका कुरा पूरा गरेको छ कि छैन भन्ने तथ्य जनतामाझ पुर्याउन नेताकार्यकर्तालाई आग्रह गर्दै भने, “कांग्रेस बदलिएर आएको छ । हामीले भनेका कुरा पूरा गरेका छौं भन्ने विश्वास दिलाउनुपर्छ ।”
निर्वाचन आचारसंहिताका कारण धेरै बोल्न नमिल्ने अवस्था रहेको उल्लेख गर्दै थापाले बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आधारसहित काम गर्नुपर्नेमा जोड दिए ।