काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै लुम्बिनी प्रदेश केन्द्रित जिल्लाव्यापी कार्यक्रमलाई तीव्रता दिएका छन् ।
माघ २६ गते सोमबारदेखि सुरू भएको पहिलो चरणको जिल्ला स्तरीय भ्रमण कार्यक्रम फागुन १ गतेसम्म सञ्चालन हुने पार्टीले जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार चितवनबाट सुरू भएको उपसभापति शर्माको पहिलो चरणको जिल्ला भ्रमण पाल्पा पुगेर टुङ्गिनेछ ।
कार्यक्रमअनुसार सोमबार चितवनमा दुई वटा कार्यक्रममा सहभागी भएका शर्मा मंगलबार बाँकेमा जिल्ला स्तरीय तथा बर्दियामा क्षेत्रीय स्तरीय भेलामा सहभागी भएका थिए । बुधबार माघ २८ गते उनी कांग्रेसका उम्मेदवारहरूसहित दाङमा आयोजना हुने जिल्ला स्तरीय बृहत भेलामा सहभागी हुने कार्यक्रम छ ।
त्यसैगरी माघ २९ गते बिहीबार बिहान रुपन्देहीमा जिल्ला स्तरीय बृहत भेलालाई सम्बोधन गर्ने र दिउँसो लुम्बिनी प्रदेश निर्वाचन परिचालन समितिको बैठकमा निर्देशनात्मक सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
पार्टीका अनुसार फागुन १ गते शुक्रबार उपसभापति शर्मा पाल्पा जिल्लामा आयोजना हुने जिल्ला स्तरीय बृहत भेलामा सम्बोधन गर्दै पहिलो चरणको निर्वाचन केन्द्रित जिल्ला कार्यक्रम समापन गर्नेछन् ।