सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेस नबुझेसम्म आफू देशको नेतृत्व गर्न योग्य नहुने स्पष्ट धारणा सार्वजनिक गरेका छन् । सर्लाही निर्वाचन क्षेत्र नं। ४ मा आयोजित कार्यक्रममा बोल्दै उनले मधेसलाई गहिरो रूपमा बुझ्न र रूपान्तरणको नेतृत्व गर्नकै लागि आफू यहाँबाट चुनाव लड्न आएको बताएका हुन् ।
सभापति थापाले सर्लाही–४ लाई मधेसका ३२ वटा निर्वाचन क्षेत्रमध्ये “एक नम्बर” बनाउने प्रतिबद्धता व्यक्त गर्दै त्यसमा असफल भए जुनसुकै मूल्य चुकाउन तयार रहेको घोषणा गरे ।
उनले भने, “म सर्लाहीमा यतिकै चुनाव लड्न आएको होइन । मधेसका ३२ वटा क्षेत्रमध्ये मैले चुनाव लडेको क्षेत्रलाई एक नम्बर बनाउन सकिन भने म जुनसुकै मूल्य चुकाउन तयार छु । यो मेरो अन्य राष्ट्रिय नेताहरूसँगको चुनौती पनि हो ।”
काठमाडौँबाट लगातार तीन पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित थापाले आफू केवल चुनावी प्रतिस्पर्धाका लागि नभई मधेसको यथार्थ बुझ्न र दीर्घकालीन परिवर्तनको आधार तयार गर्न यहाँ आएको स्पष्ट पारे । “जुन दिनसम्म म मधेस बुझ्न सक्दिन, त्यो दिनसम्म म यो देशको नेतृत्व हाँक्न सक्ने योग्य हुन्न भन्ने मैले बुझेको छु,” उनले भने ।
सभापति थापाले मधेसको कृषि प्रणाली, सिँचाइँ व्यवस्था र शिक्षा क्षेत्रलाई आमूल परिवर्तनको प्राथमिकतामा राखेको उल्लेख गर्दै सर्लाहीलाई विकास, उत्पादन र अवसरको नमूना क्षेत्र बनाउने योजना सुनाए।
सभापति थापाको अभिव्यक्तिले मधेस केन्द्रित राजनीतिक बहसलाई थप तीव्र बनाएको छ भने सर्लाही–४ मा चुनावी सरगर्मी पनि बढ्दै गएको छ।