बुटवल । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ पछि कांग्रेस देशको सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन् ।
कांग्रेस रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको पार्टी सदस्य भेटघाट कार्यक्रममा बोल्दै शर्माले देशभरबाट प्राप्त सूचनाका आधारमा कांग्रेस पहिलो शक्ति बन्ने दाबी गरे । उनले कांग्रेस पुनः देशको नेतृत्व गर्ने गरी बहुमततर्फ अग्रसर भइरहेको उल्लेख गरे ।
“जित्नु काँग्रेसका लागि नौलो कुरा होइन, हार्नु पनि नौलो होइन। तर यो निर्वाचन विशेष र गम्भीर छ,” उनले भने । शर्माले २०८४ मा हुनुपर्ने चुनाव २०८२ मै किन गर्नुपर्यो भन्ने प्रश्न उठाउँदै ७४ जनाको ज्यान जाने घटना, सिंहदरबार र संसद् भवनमा भएको आगलागी तथा अर्बौँको क्षतिबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए। ती घटनाको मूल्याङ्कन गरेर मात्रै मतदातासँग मत माग्ने उनले स्पष्ट पारे।
पूर्व गृहमन्त्री तथा कांग्रेसका पूर्व केन्द्रीय सदस्य बालकृष्ण खाणले आगामी निर्वाचनमा कांग्रेसको बहुमत अपरिहार्य रहेको बताए। उनले नेता–कार्यकर्तालाई एकताबद्ध भएर उम्मेदवारलाई जिताउन आग्रह गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कांग्रेस नेतृत्वको सरकारको उपलब्धि भएको स्मरण गराए। यसको प्रभावकारी सञ्चालन पनि कांग्रेसकै नेतृत्वमा सम्भव हुने उनको भनाइ थियो।
केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले मुलुकका जटिल समस्याको समाधान काँग्रेसले मात्र गर्न सक्ने दाबी गरे। उपलब्धिहरू संस्थागत गर्न कांग्रेसलाई जिताउनुपर्ने उनले जोड दिए।
रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार भरतकुमार शाहले कांग्रेस बदलिएको र अब देश बदल्न आवश्यक रहेको बताए। देशलाई भ्रष्टाचारमुक्त बनाउनुपर्नेमा उनले विशेष जोड दिए। कांग्रेस लुम्बिनी प्रदेश निर्वाचन परिचालन समिति संयोजक राजु खनालले फागुन २१ पछि कांग्रेस नेतृत्वको सरकार बनेमा मात्रै जेन–जी पुस्ताका माग सम्बोधन गर्न सकिने बताए।
संविधानको रक्षा र स्थायित्वका लागि पनि कांग्रेस नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो। नेपाली कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाणको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार हीरा केसी, क्षेत्र नम्बर २ का उम्मेदवार चुन्नप्रसाद पौडेल, क्षेत्र नम्बर ३ का सुशील गुरुङ तथा पूर्व केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेदवार गंगा शाही लगायतका उम्मेदवारले पनि मन्तव्य व्यक्त गरेका थिए।