नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार विनोद चौधरीले आगामी निर्वाचनमा कांग्रेसलाई “सय सिट पार” गराउने दृढ संकल्पसहित चुनावी अभियानलाई तीव्र बनाएका छन् ।
उनले सभापति गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने स्पष्ट राजनीतिक लक्ष्यसहित पार्टी एकढिक्का भएर अघि बढेको बताएका छन् । बर्दघाट नगरपालिका–१६ मा चुनाव प्रचार–प्रसार कार्यालय उद्घाटन गर्दै चौधरीले पार्टीभित्रको एकता, कार्यकर्ताको उत्साह र जनस्तरमा देखिएको भरोसाले कांग्रेसलाई बलियो शक्ति बनाएको उल्लेख गरे ।
“कांग्रेसको एकरूपता र बढ्दो जनलहर देखेर केही प्रतिस्पर्धी अताल्लिएका छन्। विभिन्न चलखेल भए पनि जनताको विश्वासका अघि ती प्रयास टिक्न सक्दैनन्,” उनले भने । उनले मतदातालाई परिवर्तन, स्थायित्व र विकासका पक्षमा उभिन आह्वान गर्दै कार्यकर्ता तथा शुभेच्छुकहरूलाई घरदैलो अभियानमा सक्रिय हुन आग्रह गरे ।
“बद्लिएको कांग्रेसलाई आगामी १० वर्षसम्म कसैले औँला उठाउन नसक्ने गरी काम गर्ने जिम्मेवारी हाम्रो काँधमा छ,” उनले जोड दिए । फरक प्रसंगमा चौधरीले बर्दघाट–१६ स्थित सूर्यनगर रंगशालालाई नमूना रंगशालाका रूपमा विकास गर्ने प्रतिबद्धता दोहोर्याए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल जन्मिएको क्षेत्र भएकाले रंगशालालाई स्तरोन्नति गरी भविष्यमा टी–२० अन्तर्राष्ट्रिय खेल आयोजना गर्न सकिने सम्भावना रहेको उनले बताए ।
“यो क्षेत्रको गौरवसँग जोडिएको रंगशालालाई राष्ट्रिय स्तरको बनाउने लक्ष्यसहित म प्रतिबद्ध छु,” उनले भने । नवलपरासी–१ मा चुनावी माहोल दिनप्रतिदिन उत्साहजनक बन्दै जाँदा कांग्रेसले संगठनात्मक एकता, विकासको स्पष्ट दृष्टिकोण र नेतृत्वप्रतिको विश्वासका आधारमा मतदातालाई आकर्षित गर्ने अभियानलाई आक्रामक रूपमा अघि बढाएको छ ।