काठमाडौँ । पूर्व संविधानसभा सदस्य तथा मधेस केन्द्रित राजनीतिमा सक्रिय नेता जितेन्द्रनारायण देव पुनः नेपाली कांग्रेसमा फर्किएका छन्।
केही समयअघि नेकपा एमाले परित्याग गरेका देवले मंगलबार एक वक्तव्य जारी गर्दै कांग्रेसको विशेष राष्ट्रिय महाधिवेशनपछि आफू पुनः पार्टीमा आवद्ध भएको घोषणा गरेका हुन्।
तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट संविधानसभा सदस्य बनेका देव फोरम लोकतान्त्रिक कांग्रेसमा विलय हुँदा विजयकुमार गच्छदारसँगै कांग्रेस प्रवेश गरेका थिए ।
त्यसअघि उनी उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरममा सक्रिय थिए भने राजनीतिक यात्रा प्रारम्भ एमालेबाट गरेका थिए। २०६३ सालमा एमाले परित्याग गरी मधेस आन्दोलनको राजनीतिक धारमा लागेका देव ०५४ सालमा एमालेको छैटौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका थिए।
फोरम लोकतान्त्रिक हुँदै कांग्रेसमा आएका देवले २०८१ असार १७ गते कांग्रेस छाडेर पुनः एमाले प्रवेश गरेका थिए। तर गत माघ १९ गते एमालेसमेत परित्याग गरेपछि उनी राजनीतिक रूपमा निष्क्रिय जस्तै देखिएका थिए ।
विशेष राष्ट्रिय महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि भने देवले कांग्रेसमा पुनरागमनको घोषणा गरेका हुन् । उनले महाधिवेशनद्वारा पारित नीति, विचार, योजना तथा प्रतिबद्धताप्रति स्वागत, समर्थन र आत्मसात् गर्ने प्रतिबद्धता जनाएका छन्।
वक्तव्यमा उनले नयाँ नेतृत्वले देशमा सामाजिक–राजनीतिक रूपान्तरणलाई प्रभावकारी र निर्णायक ढंगले अघि बढाउने विश्वास व्यक्त गर्दै आफू पूर्ण रूपमा पार्टीप्रति आस्थावान र प्रतिबद्ध रहने बताएका छन् ।
देवले आफूसहित केही अन्य नेताहरू समेत कांग्रेसमा फर्किएको उल्लेख गरेका छन् । देवको पुनरागमनलाई कांग्रेसभित्र मधेस राजनीतिमा सन्देशमूलक घटनाका रूपमा हेरिएको छ।