दोलखा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दोलखामा चुनावी सरगर्मी थप चुलिएको छ ।
नेपाली कांग्रेसले नयाँ पुस्तालाई संगठित र सक्रिय बनाउँदै उम्मेदवार अजयबाबु शिवाकोटीको पक्षमा व्यापक युवा परिचालन गर्ने रणनीतिसहित जिल्लाका नौ वटै स्थानीय तहमा ‘जेन–जी कमान्डर’ अर्थात् पालिका संयोजकहरू नियुक्त गरेको छ ।
नेपाली कांग्रेस जेन–जी परिचालन समिति दोलखाका संयोजक महेन्द्र खड्काले मंगलबार सूचना जारी गर्दै संगठन सुदृढीकरण, युवाहरूको समन्वय र प्रभावकारी परिचालनका लागि पालिकास्तरमा जिम्मेवारी बाँडफाँट गरिएको जानकारी दिए ।
उनले नवनियुक्त संयोजकहरूलाई पार्टीको नीति, सिद्धान्त र आदर्शअनुसार सक्रिय रहँदै आ–आफ्नो क्षेत्रमा युवा शक्ति संगठित गर्न निर्देशन दिएका छन् । समितिले भीमेश्वर नगरपालिकामा सुशील रिजाल र जिरी नगरपालिकामा रमेश खड्कालाई संयोजकको जिम्मेवारी दिएको छ ।
कालिन्चोक गाउँपालिकामा रामकृष्ण धामी, मेलुङमा मनोज भण्डारी, बैतेश्वरमा प्रशान्त तामाङ तथा शैलुङ गाउँपालिकामा अम्बर मोक्तानलाई नेतृत्व सुम्पिएको छ ।
त्यसैगरी तामाकोशी गाउँपालिकामा सौगात खड्का, बिगुमा प्रेम दोर्जे शेर्पा र गौरीशंकर गाउँपालिकामा प्रेम तामाङ संयोजक नियुक्त भएका छन् । यसअघि दोलखाबाट संघीय संसद्का लागि स्वतन्त्र उम्मेदवारी दिएका जेन–जी पुस्ताका अगुवा महेन्द्र खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिएर कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटीलाई समर्थन जनाएका थिए ।
उनकै नेतृत्वमा अहिले जिल्लाभर युवा परिचालन अभियान तीव्र पारिएको हो । खड्काले अनुभवी, स्पष्ट भिजन र परिणाममुखी नेतृत्वलाई समर्थन गर्दा मात्रै समाजमा वास्तविक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरे ।
भावनात्मक नाराभन्दा पनि ठोस नतिजा दिन सक्ने नेतृत्वलाई साथ दिनुपर्नेमा जोड दिँदै उनले शिवाकोटी जस्तो बौद्धिक र जुझारु व्यक्तित्वले संसद्मा दोलखाको आवाज प्रभावशाली रूपमा उठाउन सक्ने दाबी गरे ।
दोलखामा युवा पुस्ताको सक्रियता बढ्दै जाँदा आगामी निर्वाचनमा जेन–जी समूह निर्णायक शक्तिका रूपमा उभिने संकेत देखिएको छ ।