प्यूठान । विकास, ऊर्जा र अर्थतन्त्रका अनुभवी विज्ञ प्राडा गोविन्दराज पोखरेल ‘समृद्ध प्यूठान’को दूरदर्शी योजना र ठोस कार्ययोजनासहित प्रतिनिधिसभा निर्वाचनको मैदानमा उत्रिएका छन् ।
विगतमा योजनाबद्ध पहल र प्रभावकारी नेतृत्वको अभावले जिल्ला अपेक्षित विकासबाट पछि परेको उनको निष्कर्ष छ। यसपटक भने ऊर्जा आत्मनिर्भरता, कृषि–उद्योगको आधुनिकीकरण, युवाका लागि रोजगारी सृजना र दिगो पूर्वाधार विस्तारलाई केन्द्रमा राख्दै उनले प्यूठानलाई समृद्धिको नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भारतबाट इन्जिनियरिङमा स्नातक र जर्मनीबाट स्नातकोत्तर तथा विद्यावारिधि हासिल गरेका पोखरेल अन्तर्राष्ट्रिय अनुभवसहितका नीतिनिर्माता हुन् । दुई दशकभन्दा बढी समय त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानमा प्राध्यापन गर्दै उनले हजारौं प्राविधिक जनशक्ति उत्पादनमा योगदान दिएका छन् ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्षका रूपमा उनले मुलुकको ऊर्जा विस्तार, पुनर्निर्माण र आर्थिक योजना निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पोखरेल २१ फागुनको निर्वाचनमा प्यूठानबाट पुनः प्रतिस्पर्धामा छन् ।
उनले अघि सारेको “विकास र अर्थतन्त्रको यथार्थवादी मार्गचित्र”ले जिल्लामा नयाँ आशा जगाएको समर्थकहरू बताउँछन् । अनुभवी, स्पष्ट दृष्टि र परिणाममुखी नेतृत्वको विकल्पका रूपमा उनलाई हेरिएको छ ।
अब निर्णय प्यूठानवासीको हातमा छ—समृद्धिको स्पष्ट योजना बोकेको अनुभवी नेतृत्व रोज्ने कि पुरानै अवस्थालाई निरन्तरता दिने? पोखरेल भने विश्वासका साथ भन्छन्, “प्यूठानको भविष्य उज्यालो बनाउन जनताको साथ र विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो।”