रौतहट । चर्चित नेपाली पत्रकार ऋषि धमला प्रतिनिधिसभा सदस्य पदका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनावी मैदानमा उत्रिएका छन् ।
आम जनता पार्टी (आजपा) का तर्फबाट उम्मेदवार बनेका धमला पहिलो पटक प्रत्यक्ष निर्वाचनमा सहभागी भएका हुन् । उनको चुनाव चिन्ह ‘मोबाइल’ रहेको छ ।
तिन दशकदेखि पत्रकारितामार्फत भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका उनले अब राजनीतिक भूमिकामार्फत जनताको मुद्दा नीति निर्माण तहसम्म पुर्याउने उद्देश्य व्यक्त गरेका छन् । आजपाले उनलाई उक्त क्षेत्रका लागि एकल उम्मेदवारका रूपमा अघि सारेको जनाएको छ ।
धमलाले आफ्नो चुनावी अभियानमा सुकुम्बासी समस्या समाधान, उखु किसानको बक्यौता भुक्तानी तथा कृषि आधुनिकीकरण, बेरोजगार युवाका लागि रोजगारी सिर्जना, महिला सशक्तिकरण, भ्रष्टाचार नियन्त्रण र सडक, खानेपानी तथा विद्युत् जस्ता आधारभूत पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाएका छन् ।
पत्रकारिताबाट कमाएको अनुभव र सार्वजनिक सरोकारका विषयमा निरन्तर सक्रियताले आफूलाई जनमुखी प्रतिनिधिका रूपमा स्थापित गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
चन्द्रपुर, वृन्दावन, गरुडा र गढीमाईलगायत क्षेत्रका विभिन्न समुदायसँग उनले घरदैलो तथा भेटघाट कार्यक्रम सञ्चालन गरिरहेका छन् । मधेसी, मुस्लिम, थारू, जनजाति र युवा मतदातासँग प्रत्यक्ष संवादमार्फत स्थानीय समस्या संकलन गर्दै समाधानका प्रतिबद्धता प्रस्तुत गर्ने रणनीति अपनाइएको उनको दाबी छ ।
प्रत्येक वडामा आफ्नो प्रचार टोलीमार्फत नियमित जनसम्पर्कलाई तीव्र बनाइएको बताइएको छ । रौतहट–४ राजनीतिक रूपमा प्रतिस्पर्धात्मक क्षेत्र मानिन्छ, जहाँ नेपाली कांग्रेसका बेदप्रसाद तिमल्सिना र नेकपा एमालेका रामजी शाहलगायतका उम्मेदवारसँग प्रतिस्पर्धा भइरहेको छ ।
धमलाको उम्मेदवारीले क्षेत्रको चुनावी माहोलमा नयाँ बहस र चासो थपिएको देखिन्छ । विश्लेषकहरूका अनुसार ऋषी धमलाको मिडिया पृष्ठभूमि, सार्वजनिक छवि र राजनीतिक एजेन्डाले मतदाताको निर्णयमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई विशेष महत्वका साथ हेरिरहेका छन् ।
फागुन २१ मा हुने मतदानले अन्ततः रौतहट–४ को प्रतिनिधित्व धमलाले नै गर्ने अनुमान गरेका छन् ।