दोलखा । नेपाली कांग्रेस दोलखाका प्रतिनिधि सभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि विस्तृत चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै ‘समुन्नत, सुरक्षित र स्वावलम्बी दोलखा’ निर्माणको संकल्प व्यक्त गरेका छन्।
दोलखाको धरामा जन्मिएका शिवाकोटीले पत्रकारिताको सफल यात्रालाई विश्राम दिएर राजनीतिमा प्रवेश गरेका हुन्। उनका हजुरबुबा नन्दप्रसाद शिवाकोटी ‘माल्दाइ’ यस क्षेत्रका प्रतिष्ठित शिक्षासेवी र राजनीतिज्ञका रूपमा परिचित थिए।
शिवाकोटीले आफूलाई ‘संख्या होइन, दोलखालीको आवाज’ बन्ने दाबी गर्दै सुधारिएको कांग्रेस र सक्षम नेतृत्वमार्फत जिल्लाको कायाकल्प गर्ने प्रतिबद्धता जनाएका छन्। पूर्वाधार पहिलो प्राथमिकता शिवाकोटीले लामोसाँगु–जिरी सडकको गुणस्तरीय स्तरोन्नति र लामाबगर–तिब्बत नाका सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेका छन्।
दोलखा जोड्ने सुरुङमार्गको प्राविधिक तथा आर्थिक सुनिश्चितता, अलपत्र ठूला आयोजना सम्पन्न गर्ने पहल र जिल्ला रिङरोड अवधारणालाई पूर्णता दिने योजना उनले अघि सारेका छन्।
पर्यटनमा ‘ग्रेटर सर्किट’ अवधारणा पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित जिरी–शैलुङलाई अन्तर्राष्ट्रिय स्तरको उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्र बनाउने, कालिञ्चोकदेखि च्छो–रोल्पा र लप्चीसम्म एकीकृत पर्यटन गुरुयोजना लागू गर्ने तथा खरिढुङ्गामा फिल्म नगरी निर्माण गर्ने योजना उनले सार्वजनिक गरेका छन्।
धार्मिक पर्यटनअन्तर्गत ‘भीमसेन रिलिजियस सर्किट’ र ‘रामायण–सितायाण सर्किट’ मार्फत दोलखालाई अन्तर्राष्ट्रिय तीर्थ गन्तव्य बनाउने प्रतिबद्धता पनि उनको छ। कृषि, खानी र रोजगारीमा विशेष योजना ‘एडप्ट अ फार्म’ नीति, डिजिटल कार्ड प्रणाली र बिचौलिया मुक्त बजारमार्फत किसानलाई आम्दानीको ग्यारेन्टी गर्ने उनको योजना छ।
खरिढुङ्गाको म्याग्नेसाइट र आलम्पुको ढुंगा खानी उत्खनन गरी स्थानीयलाई शेयर र रोजगारी दिने तथा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने प्रतिबद्धता उनले जनाएका छन्। स्वास्थ्य, शिक्षा र युवा लक्षित कार्यक्रम चरिकोट अस्पताललाई आधुनिक रिफरल अस्पताल बनाउने, प्रत्येक स्थानीय तहमा आवासीय विद्यालय सञ्चालन गर्ने र आईटी तथा हाइड्रो इन्जिनियरिङ एकेडेमी स्थापना गर्ने उनको योजना छ।
युवाहरूका लागि बिना धितो ऋण, स्टार्टअप सपोर्ट, डिजिटल हब, फ्रि–वाइफाइ र ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गर्ने उनले घोषणा गरेका छन्। जलविद्युतमा ‘जनताको पानी, जनताकै लगानी’ दोलखालाई जलविद्युत हबका रूपमा स्थापित गर्दै रोयल्टीको कम्तीमा ५० प्रतिशत शिक्षा र स्वास्थ्यमा खर्च हुने नीतिगत सुनिश्चितता गर्ने उनको प्रमुख एजेन्डा रहेको छ।
माथिल्लो तामाकोशी आयोजनाको लागत वृद्धि र पीपीए पुनरावलोकनका लागि पहल गर्ने तथा खिम्ती जलविद्युतमा जिल्लाबासीको शेयर लगानी सुनिश्चित गर्ने उनले बताएका छन्। समावेशी विकास र खेलकुद प्रवर्द्धन सुरेल र थामी समुदायका लागि अन्तर्राष्ट्रिय अध्ययन केन्द्र र सांस्कृतिक ग्राम स्थापना गर्ने, जिल्लाभर हरियो घाँसे मैदान निर्माण र हाइ अल्टिच्युड खेल एकेडेमी स्थापना गर्ने प्रतिबद्धता पनि उनको घोषणापत्रमा समेटिएको छ।
शिवाकोटीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै जनताप्रति उत्तरदायी सरकार निर्माणका लागि आफू संसद्मा सक्रिय भूमिका खेल्ने बताएका छन्। “म सत्ताको लोभमा होइन, सेवाको भावमा आएको हुँ। मलाई जित्न होइन, दोलखालाई जिताउन तपाईंको मत चाहिएको हो,” उनले अपिल गर्दै फागुन २१ गते ‘रुख’ चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन्। उनको प्रतिबद्धता पत्र ‘वाचा होइन, काम गरेर देखाउने संकल्प’का रूपमा प्रस्तुत गरिएको छ।