काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रदेश सरकारले विगत तीन वर्षमा गरेका कामको विस्तृत विवरणसहित गोरखा क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीका पक्षमा मत माग्नुभएको छ।
निर्वाचन आयोगको अनुमति लिएर गृहजिल्ला गोरखामा चुनावी कार्यक्रममा सहभागी हुनुभएका मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको ‘रातो किताब’ सहित दुईवटा रेकर्ड फाइल बोकेर मतदातामाझ पुग्नुभएको हो।
उहाँले आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ मा सडक, खानेपानी, सिंचाइ, स्वास्थ्य, पर्यटन र सामाजिक क्षेत्रका लागि विनियोजित बजेटको एक–एक विवरण प्रस्तुत गर्दै कांग्रेसले काम देखाएर भोट मागिरहेको बताउनुभयो। “तपाईँहरूको सबै माग पूरा भयो भन्दिनँ, तर धेरै काम भएका छन्,” सूची देखाउँदै उहाँले भन्नुभयो, “प्रदेश सरकारको रातो किताबमा गोरखाका लागि विनियोजन भएको बजेटको स्पष्ट हिसाब छ।”
गोरखा–२ बाट प्रदेश सभामा निर्वाचित मुख्यमन्त्री पाण्डेले निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्ने दिशामा आफू अघि बढिरहेको उल्लेख गर्नुभयो। “निर्वाचन क्षेत्रका मुख्य सडक बाह्रै महिना सञ्चालन हुने बनाउँछु भनेको थिएँ, त्यो काम भइरहेको छ,” उहाँले भन्नुभयो।
विगतका दुई निर्वाचनमा फरक राजनीतिक परिस्थितिका कारण गोरखा–२ मा कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा ‘रुख’ चिन्हमा मतदान गर्न नपाएको स्मरण गर्दै उहाँले यसपटक त्यो गुनासो हटेको बताउनुभयो।
“अब प्रकाशचन्द्र दवाडी नेपाली कांग्रेसबाट उम्मेदवार हुनुहुन्छ, ढुक्क भएर रुखमा मतदान गर्नुहोस्,” उहाँको आग्रह थियो। मुख्यमन्त्री पाण्डेले सरकार बनाउन कांग्रेसलाई बहुमत आवश्यक रहेको उल्लेख गर्दै समानुपातिकतर्फ पनि रुखमै मत दिन आग्रह गर्नुभयो।
“देशलाई सही दिशा दिन कांग्रेसको नेतृत्व अपरिहार्य छ,” उहाँले भन्नुभयो, “हरेक परिवर्तनको नेतृत्व हिजो, आज र भोलि पनि कांग्रेसले नै गरेको छ र गर्नेछ।” आफूले नेतृत्व गरेको गण्डकी प्रदेश सरकारले सुशासनलाई प्रमुख प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले आफ्नो कामका कारण कसैले पनि शिर निहुराएर हिँड्नु नपरेको दाबी गर्नुभयो।
नेपाली कांग्रेस गोरखा क्षेत्र नं. २ द्वारा आयोजित पालिका स्तरीय चुनावी सभामा सहभागी हुन मुख्यमन्त्री पाण्डे फागुन ५ गतेदेखि १० गतेसम्म गोरखामा रहनुभएको छ। यस क्रममा उहाँले गोरखा–१ का नेता, कार्यकर्ता र उम्मेदवारसँग समेत भेटघाट गरी चुनावी रणनीतिबारे छलफल गर्नुभएको थियो। नेपाली कांग्रेसले गोरखा–२ मा प्रकाशचन्द्र दवाडी र गोरखा–१ मा प्रेम खत्रीलाई उम्मेदवार बनाएको छ ।