अर्घाखाँची । नेकपा (एमाले) अर्घाखाँचीका प्रतिनिधि सभा सदस्य उम्मेदवार पीताम्बर भुसालले आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी ‘समृद्ध अर्घाखाँची, सुखी अर्घाखाँचीबासी’ शीर्षकको प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् ।
“सुशासन, विकास, समृद्धि र समानताका लागि सूर्यमा मतदान” भन्ने नारासहित प्रस्तुत योजनामा पूर्वाधार सुदृढीकरण, धार्मिक–साँस्कृतिक पर्यटन विकास, शिक्षा र स्वास्थ्य सेवाको स्तरोन्नति, कृषि आधुनिकीकरण, युवा उद्यमशीलता प्रवर्द्धन तथा सामाजिक सुरक्षालाई मुख्य प्राथमिकतामा राखिएको छ ।
सुपादेउराली र पाणिनी तपोभूमिलाई जोडेर धार्मिक–साँस्कृतिक सर्किट निर्माण, सडक स्तरोन्नति र कालोपत्रे, ‘एक घर–एक धारा’ अभियान, विद्यालय नर्सको व्यवस्था, आईटी पार्क स्थापना, जिल्ला अस्पताललाई सुविधासम्पन्न बनाउने, किसान पेन्सन तथा बिना ब्याज स्टार्टअप कर्जा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ ।
भुसालले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन मतदातासँग आग्रह गरेका छन् । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्य लगायतको उपस्थिति रहेको थियो ।