गोरखा । नेपाली कांग्रेस गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रकाशचन्द्र दवाडीले आगामी निर्वाचनलाई लक्षित गर्दै गोरखा–२ को समग्र विकासका लागि विस्तृत प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ।
आफ्नै गृहक्षेत्र चोरकाटेमा आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले सुशासन, पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राख्दै महत्वाकांक्षी योजना अघि सार्नुभएको हो।
२०७४ सालमा प्रदेश (ख) बाट निर्वाचित भई विकास निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुभएका दवाडीले यसपटक संघीय संसदमा पुगेर गोरखा–२ लाई नमुना निर्वाचन क्षेत्र बनाउने लक्ष्य लिएको बताउनुभयो।
सुशासन र पारदर्शितामा जोड दवाडीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै राज्यका सबै तहमा नीतिगत र संरचनागत सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।
सांसदका रूपमा प्राप्त सेवा–सुविधा सामाजिक सेवामा प्रयोग गरिने तथा वार्षिक कार्यप्रतिवेदन सार्वजनिक गरिने उहाँको भनाइ छ। इ–गभर्नेन्स, इ–फाइनान्स र इ–म्यानेजमेन्टजस्ता डिजिटल प्रणालीमार्फत सुशासनको प्रत्याभूति दिलाइने बताइएको छ।
सडक, पूर्वाधार र डिजिटल सेवा विस्तार
निर्वाचन क्षेत्रका ३८ वटै वडा कार्यालय जोड्ने मुख्य सडकहरू पाँच वर्षभित्र स्तरोन्नति गरी कालोपत्रे गरिने योजना सार्वजनिक गरिएको छ। अलपत्र आयोजना समयमै सम्पन्न गर्ने, नगर तथा गाउँपालिकामा सडक, खानेपानी, ढल निकास र डिजिटल सेवा विस्तार गर्ने प्रतिबद्धता जनाइएको छ।
शिक्षा र स्वास्थ्यमा विशेष कार्यक्रम
प्रत्येक गाउँपालिकामा मेघा विद्यालय स्थापना, विद्यालय नर्सको व्यवस्था, स्कुल–कलेजको गुणस्तर सुधार तथा नैतिक शिक्षामा जोड दिने योजना अघि सारिएको छ। विपन्न स्वास्थ्य सेवा कोष स्थापना, स्वास्थ्य बीमा प्रभावकारी कार्यान्वयन, निःशुल्क एम्बुलेन्स सेवा, आँपपिपल अस्पतालसहित सबै स्वास्थ्य संस्थाको स्तरोन्नति गर्ने उल्लेख छ।
नसर्ने रोगहरूको गाउँ–टोलमै स्क्रिनिङ सेवा सञ्चालन गरिने बताइएको छ। कृषि, सिंचाइँ र रोजगारी खेतीयोग्य जमिनको माटो परीक्षण गरी अलैँची, अदुवा, कफी, टिमुर, सुन्तला, लिची, स्याउलगायत नगदे बालीको पकेट क्षेत्र विस्तार, भण्डारण र बजारीकरणको व्यवस्था गरिनेछ।
बाँझो जमिन उपयोग, सिंचाइँ आयोजना सञ्चालन तथा नदी नियन्त्रण कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि गरिने लक्ष्य राखिएको छ। विदेशबाट फर्किएका युवालाई सहुलियत ऋण उपलब्ध गराउने नीतिगत पहल गरिने बताइएको छ।
पर्यटन र उद्योग विकास ‘बुद्धहिमाल हिमालचुली ग्रेट लेक सर्किट’ निर्माण गरी गोरखा–लमजुङ क्षेत्रलाई जोड्ने, घुन्चोक पोखरी, दुधपोखरी, सिरानडाँडा, नागेपोखरी लगायत क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना छ।
ऐतिहासिक सीतागुफा, कोट तथा धार्मिक स्थलहरूको संरक्षण र योग–ध्यान केन्द्रका रूपमा विकास गरिने उल्लेख छ। गोरखकाली रबर उद्योगका अध्ययन सुझाव कार्यान्वयन, ग्याजी तामाखानी सञ्चालन पहल, जडिबुटी प्रशोधन केन्द्र स्थापना तथा स्लेट (मार्वल) खानी उत्खननका लागि नीति निर्माण गरिने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ।
समग्र विकासको लक्ष्य दवाडीले गोरखा–२ लाई पूर्वाधार सम्पन्न, कृषि उत्पादनमा आत्मनिर्भर, पर्यटकीय सम्भावनाले भरिपूर्ण र रोजगारी सिर्जनामा अग्रणी क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित आफ्नो प्रतिवद्धता अघि सारेको बताउनुभयो। उहाँले मतदातासँग विकास र सुशासनको अभियानमा साथ दिन आग्रह गर्नुभएको छ।