काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले गोरखाका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रलोपाले प्रत्यक्षतर्फ कांग्रेसको चुनाव चिन्ह ‘रुख’मा मतदान गर्न आफ्ना नेता–कार्यकर्ता तथा समर्थकलाई आह्वान गर्ने निर्णय गरेको हो।
समानुपातिकतर्फ भने आफ्नै चुनाव चिन्ह ‘आँखा’मा मतदान गर्ने निर्णय गरिएको प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीले जानकारी दिनुभयो। दुवै पार्टीबीच भएको समझदारीअनुसार प्रत्यक्षतर्फ कांग्रेसलाई सघाउने निर्णयमा पुगेको अध्यक्ष खत्रीले बताउनुभयो।
प्रलोपाको हालै सम्पन्न जिल्ला बैठकले गोरखाका दुवै क्षेत्रमा कांग्रेसलाई सहयोग गर्ने औपचारिक निर्णय गरेसँगै नेपाली कांग्रेसले उक्त निर्णयको स्वागत गर्दै आभार व्यक्त गरेको छ।
यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा डा. भट्टराईले कांग्रेससँग चुनावी तालमेल गरी गोरखा क्षेत्र नं. २ बाट विजयी भएका थिए। यस पटक पनि सहकार्यको निरन्तरतास्वरूप प्रलोपाले गोरखाका दुवै क्षेत्रमा दिएको उम्मेदवारी फिर्ता लिएको जनाएको छ। गोरखामा दुई दलबीचको यो सहकार्यलाई चुनावी समीकरणमा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।