राप्रपा रुपन्देही क्षेत्र नम्बर २ का अध्यक्ष रामबहादुर थापाद्वारा जारी विज्ञप्तिमा देशको आर्थिक, सामाजिक तथा समृद्धिको एजेन्डामा नेपाली कांग्रेससँग धारणा नजिक रहेको उल्लेख गरिएको छ।
वैचारिक र सिद्धान्तगत भिन्नता रहे पनि वर्तमान राजनीतिक परिस्थितिमा सहकार्य आवश्यक रहेको ठहर गर्दै कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिएको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, “हाम्रा सिद्धान्त र वैचारिक भिन्नता भएपनि देशको आर्थिक, सामाजिक तथा समृद्धिको क्षेत्रमा नेपाली कांग्रेससँग एजेन्डा नजिक रहेको हुनाले वर्तमान समयमा राप्रपा रुपन्देही–२ को संगठनलाई एकत्रित गरी राख्न तथा हाम्रो मुद्दामा बहस र छलफलको सन्दर्भलाई ध्यानमा राख्दै राजनीतिक सहमतिको निरन्तरता कायम राख्ने उद्देश्यले यस क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार समाजसेवी एवं उद्योगी चुन्न प्रसाद शर्मा पौडेललाई समर्थन गर्ने निर्णय गरिएको छ।”
राप्रपाले आफ्ना नेता–कार्यकर्ता तथा समर्थकलाई प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवार पौडेललाई मत दिन आह्वानसमेत गरेको छ। यस समर्थनसँगै रुपन्देही–२ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने अनुमान गरिएको छ।
