काठमाण्डाै – अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले समग्र देशको सुरक्षा अवस्था सुदृढ र मजबुत रहेको दाबी गर्नुभएको छ । गृह मन्त्रालयले पूर्वसूचनाका आधारमा रोकथामका उपायहरू अपनाएका कारण सुरक्षा चुनौतीहरू समाधान भएको उहाँले बताउनुभएको हो ।
गृहमन्त्री अर्यालले सुरक्षा निकायले सम्भावित चुनौतीहरूलाई रोकथामकै चरणमा पहिचान गरेर समाधान गरेको बताउनुभयो । केही छिटफुट रूपमा प्रकट भएका घटनाहरूलाई पनि तत्काल नियन्त्रणमा लिएर कानूनी कारबाहीको प्रक्रियामा लगेको उहाँकाे भनाइ छ ।
सुरक्षा व्यवस्थापनमा नागरिककाे उल्लेख्य सहयोग रहेको बताउँदै गृहमन्त्री अर्यालले नागरिकलाई सहयोग गर्ने वातावरण तयार पार्न सरकारले विशेष पहल गरेको स्पष्ट पार्नुभयो ।
गृह मन्त्रालयले आफ्नो कार्यशैली र पद्धतिमा व्यापक सुधार गरेको बताउँदै उहाँले अहिलेको संयन्त्र बढी समन्वयात्मक र सामूहिक नेतृत्वमा आधारित रहेको उल्लेख गर्नुभयो ।
तल्लो तहका सफल अभ्यासहरूलाई अन्यत्र पनि लागू गर्दै कानून र मापदण्डको पूर्ण पालना गराउन मन्त्रालय सफल भएको उहाँको भनाइ छ ।