काठमाडौं । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष डा. बालकृष्ण चापागाईंले संगठनभित्र न्यायोचित र स्वाभाविक निर्णय नहुँदा विद्रोह जन्मिने र त्यसले ठूलो क्षति निम्त्याउने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै उनले विगतका गलत निर्णयले नेपाल पत्रकार महासंघ र प्रेस चौतारी दुवैलाई नोक्सान पुगेको बताएका हुन्। चापागाईंले आफू प्रेस चौतारी नेपालको केन्द्रीय अध्यक्ष रहेको दोस्रो कार्यकालमा नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षका लागि उम्मेदवार चयन गर्ने क्रममा भएको विवाद स्मरण गरेका छन्।
उनका अनुसार त्यसबेला महासंघको अध्यक्ष पदका लागि तत्कालीन वरिष्ठ उपाध्यक्ष शिव गाउँलेलाई उम्मेदवार बनाउनु स्वाभाविक, न्यायोचित र जित सुनिश्चित हुने प्रस्ताव उनले राखेका थिए। तर तत्कालीन नेकपा एमालेका प्रचार उपप्रमुख सूर्य थापाले गाउँलेलाई टिकट दिन नसकिने भन्दै चौतारी सचिवालयबाट महेन्द्र बिष्टलाई उम्मेदवारका रूपमा सिफारिस गर्नुपर्ने धारणा राखेका थिए।
चापागाईंले भने त्यसलाई गलत निर्णय हुने भन्दै उक्त कार्यकालमा शिव गाउँले र अर्को कार्यकालमा महेन्द्र बिष्टलाई अध्यक्ष बनाउने सहमति गर्न प्रस्ताव राखेका थिए। तर उनको प्रस्ताव अस्वीकार गरिएको उनले उल्लेख गरेका छन्।
त्यसपछि बसेको प्रेस चौतारीको ९ सदस्यीय सचिवालय बैठकमा सात सदस्य शिव गाउँलेको पक्षमा देखिएपछि निर्णय माइन्युट नगर्ने सहमति भएको चापागाईंले बताएका छन्। तर भोलिपल्ट पुनः बोलाइएको बैठकमा पार्टीका प्रचार विभाग प्रमुख रघुजी पन्त र उपप्रमुख सूर्य थापाको निर्देशनमा महेन्द्र बिष्टलाई उम्मेदवार बनाउने निर्णय लेखिएको उनले दाबी गरेका छन्।
उक्त निर्णयप्रति असन्तुष्ट सात सचिवालय सदस्यहरूले विद्रोह गर्दै शिव गाउँलेलाई समर्थन गरेका थिए। महाधिवेशनमा महेन्द्र बिष्ट र शिव गाउँले दुवै एउटै पदका उम्मेदवार बनेपछि दुवै पराजित भएको चापागाईंले बताएका छन्।
उनका अनुसार त्यसबेला आफ्नो प्रस्ताव स्वीकार गरिएको भए शिव गाउँले अत्यधिक मतले विजयी हुने थिए। संगठनले अघि सारेको उम्मेदवारभन्दा स्वतन्त्र रूपमा उठेका गाउँलेले बढी मत प्राप्त गर्नु नै त्यसको प्रमाण भएको उनको दाबी छ।
सो निर्णयका कारण एक कार्यकाल नेपाल पत्रकार महासंघको नेतृत्व प्रेस चौतारीले गुमाउनु परेको उनले बताए। चापागाईंले पछि उक्त गल्ती सच्याउँदै अर्को कार्यकालमा शिव गाउँले र त्यसपछि महेन्द्र बिष्टलाई महासंघको नेतृत्वमा पुर्याइएको उल्लेख गरेका छन्।
उनले पार्टी प्रचार प्रमुख र उपप्रमुखको दबाबमा गरिएको गलत निर्णयले नेपाल पत्रकार महासंघ र प्रेस चौतारी दुवैलाई ठूलो क्षति पुर्याएको बताए। उनले जिम्मेवार स्थानमा बसेर गरिने निर्णय स्वाभाविक, न्यायोचित र उपलब्धिमूलक हुनुपर्नेमा जोड दिँदै यस्तै गलत निर्णयहरू दोहोरिँदै जाँदा सुधार गर्ने इच्छाशक्ति कमजोर हुने र त्यसले राजनीतिक दलको समग्र अवस्थामै असर पर्ने बताएका छन्।
उनका अनुसार यस्तै प्रवृत्तिको परिणाम अहिले नेकपा एमालेले भोगिरहेको अनुभूति आफूलाई हुने गरेको छ।