काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भइसकेपछि ओखलढुंगामा नयाँ विवाद उत्पन्न भएको छ ।
प्रत्यक्षतर्फका हराएका भनिएका मतपत्र समानुपातिकतर्फको मतपेटिकामा भेटिएपछि निर्वाचन प्रक्रियाको पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको हो ।
अन्तिम परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई मात्र पाँच मतले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएका थिए । तर मतगणनाको क्रममा मुचुल्का र गणनामा देखिएको संख्याबीच १८८ मतको फरक परेको भन्दै कांग्रेस पक्षले गम्भीर आपत्ति जनाएको छ । कांग्रेस उम्मेदवार लुइँटेलले मतपत्र हराएको दाबी गर्दै पुनः मतगणनाको माग गरेका छन् ।
उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिँदै परिणाम घोषणाको निर्णयमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । उनका प्रतिनिधिले पनि मतपरिणाममा हस्ताक्षर नगरेको जनाइएको छ ।
कांग्रेस ओखलढुंगा जिल्ला कार्यसमिति सदस्य राजेश लुइँटेलका अनुसार ठूलो संख्यामा मतपत्र हराएको विषयमा स्पष्टता नआउँदै परिणाम घोषणा गरिएको छ । उनका अनुसार अहिले ती हराएका मतपत्र समानुपातिकतर्फको मतपेटिकामा भेटिएको दाबी गरिएको छ ।
यता, ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले भने भेटिएका मतपत्रलाई बदर गर्ने निर्णय भइसकेको बताएका छन् । उनले सर्वदलीय सहमतिअनुसार गणना सम्पन्न गरी परिणाम घोषणा गरिएको स्पष्ट पार्दै भेटिएका मतपत्र मुचुल्का गरी सुरक्षित राखिने तर परिणाममा त्यसले कुनै असर नपर्ने बताएका छन् ।
“समानुपातिकतर्फको गणनामा केही मतपत्र भेटिएका छन्। ती सबैलाई बदर गरिएको छ र मुचुल्का गरी सुरक्षित राखिनेछ,” उनले भने । तर कांग्रेस उम्मेदवार लुइँटेलले भने जनताले खसालेको मतलाई सहजै बदर गर्न नमिल्ने तर्क गर्दै यस विषयलाई कानुनी प्रक्रियामा लैजाने तयारी गरेको बताएका छन् ।
समानुपातिक मतपेटिकामा प्रत्यक्षतर्फका मतपत्र भेटिएको घटनाले निर्वाचन व्यवस्थापन र मतगणना प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ। अब यो विवाद कानुनी निकायसम्म पुग्ने संकेत देखिएको छ ।