काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभाग सचिव निर्मला क्षेत्रीले हालै सार्वजनिक भएको चुनावी मतपरिणामलाई लिएर राजनीतिक दल र कार्यकर्ताहरूलाई स्पष्ट र कडा सन्देश दिएकी छन् ।
उनले लोकतान्त्रिक अभ्यासमा हार र जित दुवैलाई समान रूपमा स्वीकार गर्दै आत्मसमीक्षाबाट अघि बढ्नुपर्नेमा जोड दिँदै भावनात्मक प्रतिक्रियाभन्दा परिपक्व राजनीतिक संस्कार आवश्यक रहेको बताएकी छन् ।
नेत्री क्षेत्रीले चुनावलाई लोकतन्त्रको स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै संघर्षबिना राजनीति सम्भव नहुने बताइन् । “चुनाव भनेको प्रतिस्पर्धा हो, प्रतिस्पर्धामा हार–जित हुनु स्वाभाविक हो ।
जीवन जस्तै राजनीतिमा पनि कहिले सफलता प्राप्त हुन्छ भने कहिले असफलताबाट सिक्नुपर्ने अवस्था आउँछ,” उनले भनिन् । हारलाई निराशाको कारण बनाउनु भन्दा त्यसलाई पाठ र अनुभवको रूपमा ग्रहण गर्नुपर्ने उनले स्पष्ट गरिन् ।
लुम्बिनी प्रदेश सभाकी पूर्वसदस्य क्षेत्रीले विशेषगरी नेपाली कांग्रेसका नेता–कार्यकर्तालाई निराशा र हताशामा नडुब्न आग्रह गर्दै आत्मसमीक्षाबाट नयाँ ऊर्जा सिर्जना गर्नुपर्नेमा जोड दिइन् ।
“पार्टी हारेको भन्दै निराश भएर बस्ने समय होइन । हारबाट गम्भीर रूपमा पाठ सिकेर अझ संगठित, सक्षम र प्रभावकारी रूपमा अघि बढ्ने संकल्प गर्नुपर्छ,” उनले भनिन् ।
साथै उनले जित पनि स्थायी नहुने भन्दै सफलता प्राप्त गर्दा अहंकार नदेखाउने र हार्दा आत्मसमालोचना गर्ने राजनीतिक संस्कार विकास गर्नुपर्ने बताइन् । राजनीतिमा स्वस्थ प्रतिस्पर्धा अपरिहार्य रहेको उल्लेख गर्दै क्षेत्रीले सबै राजनीतिक दललाई हार-जितलाई समान रूपमा स्वीकार गर्ने परिपक्वता देखाउन आग्रह गरिन् ।
कांग्रेसको महासमिति सदस्य समेत रहेकी क्षेत्रीले विशेषगरी हालको चुनावी परिणाममा उत्साहित देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै उनले जितको उत्साहलाई उन्मादमा रूपान्तरण नगर्न चेतावनी दिइन् ।
“जितेको दलले पनि संयम गुमाउनु हुँदैन, विरोधीलाई सम्मान गर्न सिक्नुपर्छ । लोकतन्त्रमा आजको जित भोलिको चुनौती बन्न सक्छ,” उनले स्पष्ट पारिन् । नेत्री क्षेत्रीले नेपाली कांग्रेसको लामो लोकतान्त्रिक अभ्यास र राजनीतिक परिपक्वतालाई स्मरण गराउँदै आगामी दिनमा पार्टी अझ मजबुत रूपमा जनतामाझ जाने विश्वास व्यक्त गरिन् ।
उनका अनुसार चुनावी परिणामले पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएको छ, जसलाई सही ढंगले उपयोग गर्न सके कांग्रेस झन् बलियो भएर पुनः उदाउनेछ । राजनीतिक विश्लेषकहरूका अनुसार क्षेत्रीले व्यक्त गरेको धारणा केवल कांग्रेसभित्रका कार्यकर्ताका लागि मात्र नभई समग्र नेपाली राजनीतिका लागि पनि महत्वपूर्ण सन्देश हो ।
हार-जितलाई समान रूपमा स्वीकार गर्दै आत्मसमीक्षाबाट अघि बढ्ने संस्कारले मात्रै लोकतन्त्रलाई स्वस्थ र बलियो बनाउने उनको भनाइले अहिलेको राजनीतिक परिवेशमा गम्भीर अर्थ राखेको छ ।