काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले निर्वाचन प्रहरीलाई रित्तो हात नफर्काउन सरकारलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री कार्यालयलाई पत्र पठाउँदै निर्वाचन प्रहरीका रूपमा राष्ट्र सेवामा खटिने युवाहरूलाईसीप र उद्यमशीलतासँग जोडिने वातावरण बनाउन आग्रह गरेका हुन्।
पत्रमा भनिएको छ, ‘आवधिक निर्वाचन लोकतन्त्रको प्राण हो र यसलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्वाचन प्रहरीको रूपमा खटिने हजारौँ युवाहरूको योगदान अतुलनीय छ। तर, राष्ट्रलाई आवश्यक पर्दा सुरक्षाको जिम्मेवारी बोक्ने ती युवाहरू निर्वाचनको भोलिपल्टै बेरोजगार भई रित्तो हात घर फर्किनुपर्ने र अन्ततः वैदेशिक रोजगारीको अँध्यारो सुरुङमा भासिनुपर्ने विडम्बनापूर्ण यथार्थ हाम्रोसामु छ।’
राज्यको दायित्व युवाहरूलाई केही दिनको रोजगारी दिएर बिदाइ गर्नुमा मात्र सीमित हुन नहुने पत्रमा उल्लेख छ।
पत्रमा भनिएको छ, ‘उनीहरूको बिदाइलाई बेरोजगारीको सुरुवात’ नभई उद्यमशीलताको प्रस्थान बिन्दु बनाउन नितान्त आवश्यक छ। निर्वाचनपछि उनीहरूलाई खाली हात फर्काउनुको साटो, उनीहरूको रुचि र स्थानीय स्रोत–साधनको सम्भाव्यतामा आधारित सीपमूलक तालिम (जस्तै: आधुनिक कृषि, पर्यटन, प्राविधिक सीप, घरेलु उद्योग आदि) प्रदान गर्ने र उद्यमका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सुदृढ राष्ट्रिय नीति निर्माण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’