काठमाडौं । नेपाली कांग्रेसका अग्रज नेता गोपालमान श्रेष्ठले पार्टी सभापति गगनकुमार थापालाई राजीनामा नदिन आग्रह गर्दै नयाँ जनादेशअनुसार पार्टी संगठन सुदृढ बनाउन लाग्न कडा सन्देश दिएका छन्।
श्रेष्ठले सभापति थापालाई खुला पत्र लेख्दै हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार आउन नसकेको स्वीकार गरे पनि यस्तो अवस्थामा नेतृत्वबाट पन्छिनु समाधान नभएको स्पष्ट पारेका छन्। उनले कांग्रेसी कार्यकर्ताहरूलाई एकढिक्का बनाएर पार्टीलाई पुनर्गठन र रूपान्तरणको दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका हुन्।
खुला पत्रमा श्रेष्ठले थापाकै नेतृत्वमा नेपाली कांग्रेसले नयाँ ऊर्जा, नयाँ आशा र रूपान्तरणको सम्भावना देखिरहेको उल्लेख गर्दै यस कठिन घडीमा राजीनामा दिनु वा त्यसको चर्चा गर्नु पार्टी र देश दुवैका लागि हितकर नहुने बताएका छन्। उनले संकटको समयमा नेतृत्वलाई कमजोर बनाउनु भन्दा एकजुट भएर संगठन बलियो बनाउनु नै सही बाटो भएको उल्लेख गरेका छन्।
श्रेष्ठले निर्वाचन परिणामलाई गम्भीर रूपमा आत्मसात गर्दै कांग्रेसलाई समयसापेक्ष बनाउन, युवाहरूको आकांक्षा समेट्न र संगठनात्मक रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनका अनुसार अब वडा तहदेखि केन्द्रसम्म संगठन सुदृढीकरण गर्दै कांग्रेसलाई नयाँ ढंगले पुनःस्थापित गर्नुपर्ने समय आएको छ।
“निर्वाचनको परिणाम हाम्रो अपेक्षाअनुसार नआए पनि लोकतन्त्रको रक्षा, विधिको शासनको सुदृढीकरण र राजनीतिक स्थिरता कायम गर्नु नै हाम्रो मुख्य उद्देश्य हो,” श्रेष्ठले पत्रमा उल्लेख गरेका छन्।
सर्लाही–४ बाट चुनाव हारेपछि सभापति गगन थापाले नैतिकताका आधारमा राजीनामा दिन सक्ने चर्चा चलिरहेका बेला श्रेष्ठको यो खुला पत्रलाई पार्टीभित्र महत्वपूर्ण सन्देशका रूपमा हेरिएको छ। पछिल्लो समय कांग्रेसकै एक पक्षबाट सामाजिक सञ्जालमार्फत थापामाथि राजीनामा दिन दबाब बढिरहेको छ भने चुनावमा अन्तर्घात र असहयोगका आरोपसमेत सार्वजनिक भइरहेका छन्।
यस्तो अवस्थामा श्रेष्ठले थापालाई हिम्मत नहार्न र कांग्रेसीहरूलाई एकजुट गर्दै पार्टीलाई नयाँ दिशातर्फ अघि बढाउन आग्रह गरेका छन्। “तपाईंले देखाएको साहस, दृष्टि र युवाहरूलाई प्रेरित गर्ने क्षमताले हामीलाई अझै आशावादी बनाएको छ,” पत्रमा भनिएको छ।
श्रेष्ठले अन्त्यमा संकटको यस घडीमा सभापति थापाप्रति पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गर्दै सबै मिलेर नेपाली कांग्रेसलाई रूपान्तरण गर्ने यात्रामा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। “जय नेपाल,” भन्दै उनले पत्र समाप्त गरेका छन्।