बुटवल l वरिष्ठ पत्रकार तथा अधिवक्ता डा. बालकृष्ण चापागाईंले चुनौतीपूर्ण परिस्थितिका बीच ‘प्रतिनिधिसभा निर्वाचन-२०८२’ निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सफल भएकोमा मंगलवार विज्ञप्ति मार्फत सरकारलाई बधाई तथा धन्यवाद व्यक्त गरेका छन् ।
जेनजी आन्दोलनको बलमा गठन भएको सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले मुलुकले नयाँ प्रकारको निकास खोजिरहेको संवेदनशील घडीमा निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको उल्लेख गर्दै उनले लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउन यसले महत्वपूर्ण योगदान पुर्याएको बताए ।
उनले निर्वाचनमार्फत अत्यधिक सिट संख्या प्राप्त गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने तथा नयाँ सरकारको नेतृत्वका लागि पूर्वघोषित प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहसहित सबै दलबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई हार्दिक बधाई दिँदै सफल र सिर्जनशील कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष समेत रहेका डा. चापागाईंले नेपाल कहिल्यै पनि घोषित रूपमा कसैको उपनिवेश नबनेको स्वाभिमानी राष्ट्र भएको उल्लेख गर्दै यसको गौरवपूर्ण इतिहास, स्वाधीनता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको संरक्षण गर्दै अगाडि बढ्न नवनिर्वाचित सांसद तथा बन्ने नयाँ सरकारलाई आग्रह गरेका छन् ।
उनले विश्वसामु अंग्रेज उपनिवेशलाई पहिलो पटक पराजित गरेको वीरगाथा बोकेको बुटवलको ऐतिहासिक जीतगढी किल्लाको स्मरण गर्दै नेपाली राष्ट्रको स्वाधीनता र राष्ट्रिय अस्मितालाई सधैं सर्वोपरि राख्नुपर्ने बताएका छन् ।
साथै, नेपाललाई कुनै पनि प्रकारको साम्राज्यवादको चङ्गुलमा फस्न नदिने र विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाली झण्डा सधैं फहराइरहने अठोट सबै सांसदहरूले गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
यसै क्रममा उनले रुपन्देहीका विभिन्न निर्वाचन क्षेत्रबाट विजयी प्रतिनिधिसभा सदस्यहरूलाई पनि बधाई दिएका छन् । रुपन्देही क्षेत्र नं. १ बाट सुनिल लम्साल, क्षेत्र नं. २ बाट सुलभ खरेल, क्षेत्र नं. ३ बाट डा. लेखजंग थापा, क्षेत्र नं. ४ बाट कनैया बनिया तथा क्षेत्र नं. ५ बाट तौफिक अहमद खान विजयी भएकोमा हार्दिक बधाई दिँदै सफल र सिर्जनशील कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
