काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसी समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभामा प्रवेश गर्ने लगभग निश्चित भएपछि पार्टीभित्र उनलाई संसदीय दलको नेता बनाउने चर्चा र समर्थन तीव्र हुँदै गएको छ ।
कांग्रेसका प्रभावशाली नेताहरू डा. शेखर कोइराला र डा. प्रकाशशरण महत प्रत्यक्ष निर्वाचनमा पराजित भएपछि संसदीय नेतृत्वको नयाँ समीकरणमा केसीको नाम सबैभन्दा अगाडि देखिएको हो ।
समानुपातिकतर्फ खस-आर्य समूहको पहिलो नम्बरमा रहेका केसी सांसद बन्ने सम्भावना प्रबल रहेको कांग्रेस नेताहरू बताउँछन् । पार्टीभित्र लामो राजनीतिक अनुभव, स्पष्ट वैचारिक धार र संगठनभित्रको सम्मानजनक छविका कारण केसीलाई स्वाभाविक रूपमा संसदीय दलको नेतृत्वका लागि उपयुक्त व्यक्तिका रूपमा हेरिएको छ ।
कांग्रेसका एक नेताका अनुसार केसी संसद प्रवेश गरेपछि कांग्रेस संसदीय दलको नेता बन्ने सम्भावना अत्यन्त बलियो रहेको छ । संसदीय दलको नेता संसदमा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा रहने भएकाले यो पदलाई राष्ट्रिय राजनीतिमा महत्वपूर्ण मानिन्छ । ८१ वर्षीय केसी नेपाली कांग्रेसभित्रका सबैभन्दा अनुभवी र वरिष्ठ नेतामध्ये एक हुन् ।
उनले पार्टीमा केन्द्रीय सदस्य, प्रवक्ता र सहमहामन्त्री जस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । साथै पछिल्लो विशेष महाधिवेशनबाट पनि उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए, जसले पार्टीभित्र उनको प्रभाव र स्वीकार्यता अझ स्पष्ट पार्छ ।
कांग्रेसभित्रको लामो राजनीतिक यात्रा, सिद्धान्तप्रतिको प्रतिबद्धता र संगठनप्रतिको निष्ठाका कारण केसीलाई अहिले अनुभव, परिपक्वता र नेतृत्व क्षमताको प्रतीकका रूपमा हेरिएको छ ।
यही कारणले पार्टीभित्रका धेरै नेता तथा कार्यकर्ताले संसदमा कांग्रेसको आवाजलाई प्रभावशाली रूपमा उठाउन सक्षम नेताका रूपमा केसीलाई अगाडि ल्याउनुपर्ने धारणा व्यक्त गरिरहेका छन् ।
पार्टीभित्रको वरिष्ठता, अनुभव र राजनीतिक योगदानलाई हेर्दा अहिलेको अवस्थामा अर्जुननरसिंह केसीलाई संसदीय नेतृत्वमा पुग्न रोक्ने स्पष्ट विकल्प देखिन नसकेको कांग्रेस वृत्तमा चर्चा भइरहेको छ । त्यसैले समानुपातिकबाट संसद प्रवेशसँगै कांग्रेस संसदीय दलको नेतृत्वमा केसीको उदय लगभग निश्चितजस्तै देखिएको नेताहरूको भनाइ छ ।