काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका अनुभवी र प्रभावशाली व्यक्तित्व हुन् ।
उनी अहिले चर्चामा आउने केही आरोप-प्रत्यारोपका कारण मात्र चिनिएका होइनन्, बरु पञ्चायत कालदेखि नै लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै पार्टीको केन्द्रीय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्दै आएका नेता हुन् ।
गगन थापा राजनीतिमा उदाउँदै गर्दा पनि केसी पार्टीभित्र स्थापित नेतृत्वको रूपमा चिनिन्थे । त्यसैले उनलाई केवल कसैको ‘ससुरा’ को रूपमा सीमित गरेर प्रस्तुत गर्नु उनको दशकौँ लामो राजनीतिक योगदान र अनुभवको अवमूल्यन गर्नु सरह हुन्छ ।
नेपाली कांग्रेसमा समानुपातिक सूची तयार पार्ने प्रक्रिया पार्टी सभापति तथा संसदीय बोर्डको निर्णयमा आधारित हुन्छ । अर्जुन नरसिंह केसीलाई समानुपातिक सूचीमा राख्ने निर्णय पनि तत्कालीन सभापति शेरबहादुर देउवा नेतृत्वको संसदीय बोर्डमार्फत गरिएको थियो । त्यसकारण यस विषयमा उठ्ने जस वा अपजसको जिम्मेवारी पनि सोही नेतृत्व र निर्णय प्रक्रियासँग सम्बन्धित हुन्छ । यसलाई गगन थापासँग जोडेर व्याख्या गर्नु तथ्यगत रूपमा पनि उचित देखिँदैन ।
गगन थापा र अर्जुन नरसिंह केसी दुवै नेपाली कांग्रेसभित्र आ-आफ्नै पहिचान र राजनीतिक हैसियत भएका नेता हुन् । गगन थापा आफ्नो राजनीतिक सक्रियता, संगठनात्मक क्षमता र जनसमर्थनका आधारमा स्थापित भएका हुन् भने केसीले लामो राजनीतिक अनुभव र पार्टीप्रतिको निरन्तर प्रतिबद्धताका आधारमा आफ्नो स्थान बनाएका छन् ।
पारिवारिक नाता-सम्बन्धलाई आधार बनाएर राजनीतिक मूल्यांकन गर्नु न त न्यायोचित हुन्छ, न त वस्तुनिष्ठ विश्लेषणकै दायराभित्र पर्छ । वास्तवमा, अर्जुन नरसिंह केसीलाई समानुपातिक सूचीमा समावेश गर्नुमा उनको कांग्रेसप्रतिको दीर्घकालीन लगाव, संगठनमा गरेको योगदान र राजनीतिक अनुभवलाई नै मुख्य आधार बनाइएको थियो ।
त्यसैले यस विषयलाई अनावश्यक रूपमा नेपाली कांग्रेसका सभापति गगन थापासँग जोडेर चर्चा गर्नु केसीको राजनीतिक व्यक्तित्व र योगदानप्रति अन्यायपूर्ण टिप्पणी ठहरिन्छन ।
यस सन्दर्भमा अर्जुन नरसिंह केसीको राजनीतिक यात्रालाई वस्तुनिष्ठ रूपमा हेर्दा उनी नेपाली कांग्रेसका ‘हेभीवेट’ नेतामध्ये एक भएको स्पष्ट देखिन्छ-जसले दशकौँदेखि पार्टीको संगठन, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय राजनीतिमा निरन्तर भूमिका निर्वाह गर्दै आएका छन् ।