काठमाडौं l नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाको राजीनामा सर्वसम्मत रूपमा अस्वीकृत गर्दै पार्टीलाई अब १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्ने निर्णय गरेको छ ।
ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा चैत्र ६ देखि ८ गतेसम्म उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले व्यापक छलफलपछि यस्तो निष्कर्ष निकालेको हो ।
निर्वाचन परिणामको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले दिएको राजीनामालाई बैठकले अस्वीकार गर्नुका पछाडि विभिन्न कारणहरू औंल्याइएको छ ।
बैठकले निर्वाचन पराजयलाई व्यक्तिगत नभई संरचनागत, प्रणालीगत र परिस्थितिजन्य कारणको परिणाम ठहर गरेको छ । साथै, वर्तमान जटिल राजनीतिक अवस्थामा थापाको नेतृत्व आवश्यक रहेको, राजीनामा स्वीकृत गर्दा पार्टीभित्र अस्थिरता बढ्न सक्ने र कार्यकर्ताको मनोबल घट्ने निष्कर्ष निकालिएको छ ।
बैठकमा उपसभापति शर्माद्वारा प्रस्तुत २७ बुँदे प्रारम्भिक समीक्षा प्रतिवेदनमाथि गहन छलफल भएको थियो । प्रतिवेदनले पार्टीभित्रको गुटबन्दी, आन्तरिक असहयोग, गठबन्धन सरकारको कमजोर कार्यसम्पादन, जनआक्रोश, तथा जेन-जेड पुस्ताको असन्तोषलाई पराजयका मुख्य कारणका रूपमा औंल्याएको छ।
डिजिटल युगमा नयाँ राजनीतिक शक्तिहरूले पाएको लाभलाई पनि महत्वपूर्ण कारकका रूपमा उल्लेख गरिएको छ । केन्द्रीय कार्यसमितिले अब पार्टीको सम्पूर्ण ध्यान १५औँ महाधिवेशनमा केन्द्रित गर्ने निर्णय गरेको छ ।
उक्त महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन, विधान संशोधन, संगठनात्मक पुनर्संरचना र भावी रणनीति तय गरिने जनाइएको छ । पार्टीले यस परिणामलाई आत्मसमीक्षाको अवसरका रूपमा लिँदै पुनर्जागरण र सुदृढीकरण अभियान अघि बढाउने जनाएको छ । कार्यकर्तालाई उच्च मनोबलका साथ एकता कायम राख्न र अनुशासनमा रहन आह्वान गरिएको छ ।
त्यसैगरी, बैठकले मध्यपूर्वमा चर्किएको युद्धप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपालीहरूको सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह गरेको छ । इरानमा नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झाको शीघ्र उद्धारको माग गरिएको छ । साथै, जेनजी प्रदर्शनसम्बन्धी कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि माग गरिएको छ ।
बैठकले पार्टीका दिवंगत नेताहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ भने निर्वाचनमा सहभागी उम्मेदवार, कार्यकर्ता र मतदाताप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ । नेपाली कांग्रेसले जनताको सन्देशलाई गम्भीरतापूर्वक आत्मसात गर्दै आगामी दिनमा संगठन सुदृढीकरण र राजनीतिक सुधारमा केन्द्रित रहने प्रतिबद्धता जनाएको छ ।