बुटवल । लुम्बिनी प्रदेशमा चट्याङका कारण चालु आर्थिक वर्ष ०८२/०८३ को चैत ५ गतेसम्म ६ जनाले ज्यान गुमाएका छन् ।
नेपाल प्रहरी लुम्बिनी प्रदेश कार्यालय दाङले दिएको जानकारी अनुसार चालु आवको साउनदेखि चैत्र ५ सम्म लुम्बिनी प्रदेशमा चट्याङका १३ वटा घटना हुँदा ६ जनाले ज्यान गुमाएका हुन् ।
कार्यालयका एसपी शारदाप्रसाद चौधरीले प्रदेशका नौ जिल्लामा फरकफरक महिनामा चट्याङका घटना भएको जानकारी दिए ।
सबैभन्दा धेरै घटना भदौमा
तथ्यांकअनुसार, साउनमा अर्घाखाँचीमा चट्याङको एउटा घटना घटेको थियो । त्यसपछि सबैभन्दा धेरै घटना भदौमा भएका छन् । भदौमा मात्रै सातवटा चट्याङका घटना भएका छन् ।
यी घटनाहरू रुपन्देहीमा–२ तथा कपिलवस्तु, बाँके, पाल्पा, गुल्मी, प्युठान र रोल्पामा एक–एक घटना घटेका थिए । यही महिनामा रुपन्देही, कपिलवस्तु, पाल्पा, प्युठान र रोल्पामा एक–एक जनाको ज्यान गएको छ ।
त्यसपछि असोजमा रुपन्देही, गुल्मी, रोल्पा र रुकुम पूर्वमा एक–एक गरी चारवटा घटना घटेका छन् । यस्तै, चैत ५ सम्म रोल्पामा एउटा घटना भएको विवरणमा उल्लेख छ ।
यस अवधिमा प्रदेशभर १४ जना घाइते भएका छन् । सबैभन्दा धेरै गुल्मीमा पाँचजना, रोल्पामा तीनजना, रुपन्देहीमा दुईजना तथा प्युठान र रुकुम पूर्वमा एक/एकजना घाइते भएका छन् ।
१४ लाखभन्दा बढी क्षति
चट्याङका कारण नौवटा चौपाया मरेका छन् भने आठवटा घर तथा गोठमा क्षति पुगेको छ । गुल्मी र रोल्पामा चारचारवटा र रुपन्देहीमा एक चौपाया मरेका छन् ।
यस्तै, रोल्पामा चारवटा घरगोठमा क्षति भएको छ भने पाल्पा, अर्घाखाँची, प्युठान र रुकुम पूर्वमा एक/एक घरगोठमा क्षति पुगेको तथ्यांक छ ।
यी सबै घटनाबाट प्रदेशमा करिब १४ लाख १९ हजार रुपैयाँबराबरको आर्थिक नोक्सानी भएको प्रहरीले जनाएको छ । सबैभन्दा धेरै क्षति रुपन्देहीमा १० लाख रुपैयाँको भएको छ ।
बाँकेमा दुई लाख, गुल्मीमा एक लाख ६० हजार, रुकुम पूर्वमा ३० हजार र अर्घाखाँचीमा साढे चार हजार रुपैयाँको क्षति भएको हो ।
यी जिल्लामा छैन चट्याङको प्रभाव
नवलपरासी, दाङ र बर्दिया जिल्लामा भने यस अवधिमा चट्याङको कुनै प्रभाव देखिएको छैन । उपलब्ध तथ्यांक अनुसार, यी तीन जिल्लामा एक–एक घटना दर्ता भए पनि मानवीय क्षति (मृत्यु र घाइते), चौपाया क्षति तथा घरगोठजस्ता भौतिक संरचनामा कुनै क्षति नभएको देखिएको छ ।
लुम्बिनीमा चट्याङका हिसाबले सबैभन्दा जोखिमयुक्त महिना भदौ रहेको देखिएको छ ।