काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान प्रतिकूल परिस्थितिमा पार्टीभित्र एकता कायम गर्न सबै नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले चुनौतीपूर्ण अवस्थामा विभाजनतर्फ नलागी एकजुट भएर अघि बढ्न आग्रह गरेका हुन्।
उनले देशका हरेक संकटमा कांग्रेस सधैं एकढिक्का भएर उभिएको स्मरण गराउँदै एकताकै बलमा विगतका ऐतिहासिक परिवर्तनहरू सम्भव भएको उल्लेख गरे।
महामन्त्री पौडेलले अहिलेको अवस्थामा छिन्नभिन्न भएर पार्टी कमजोर बनाउने कुनै पनि गतिविधि उपयुक्त नहुने स्पष्ट पारे। “म पार्टीको महामन्त्री मात्र नभई एक इमान्दार कार्यकर्ताको रूपमा भन्छु— हामी सबै एकजुट होऔं,” उनले भने।
उनले कांग्रेसभित्र एकतामा नै शक्ति निहित रहेको औंल्याउँदै यही एकताका आधारमा उज्यालो भविष्य निर्माण गर्न सकिने विश्वास व्यक्त गरे।