कपिलवस्तु । बैंकिङ कसुर सम्बन्धी गम्भीर घटनामा बैंककै एक कर्मचारी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले हिजो दिएको जानकारीअनुसार पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–१ पकडी निवासी २८ वर्षीय रिशभ कार्की रहेका छन्।
प्रहरीका अनुसार कार्कीले बैंकिङ प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी केही ग्राहकहरूको मोबाइल नम्बर परिवर्तन गरेका थिए। त्यसपछि आफ्नै मोबाइल नम्बर खातामा लिंक गरी मोबाइल बैंकिङ तथा कनेक्ट आईपीएस (Connect IPS) प्रयोग गरेर ग्राहकलाई जानकारी नदिई खाताबाट रकम स्थानान्तरण गरेका थिए।
यसरी उनले विभिन्न समयमा कुल रु. १ करोड ६५ लाख रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उक्त घटनापछि इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको टोलीले उनलाई चैत्र ११ गते पक्राउ गरेको हो।
हाल बैंकिङ कसुर मुद्दामा उच्च अदालत तुल्सीपुर, बुटवल इजलासबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले यस्ता घटनाबाट बच्न आफ्ना बैंक खातामा प्रयोग भएका मोबाइल नम्बरहरू नियमित रूपमा जाँच गर्न र शंकास्पद गतिविधि देखिएमा तुरुन्त सम्बन्धित निकायमा जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ।