काठमाडौं । २०८३ नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्ष्य गर्दै ‘एक महिने जरा अभियान तथा क्रियाशील सदस्यता अध्यावधिक कार्यक्रम’ आजदेखि औपचारिक रूपमा सुरु गरेको छ ।
काठमाडौं महानगरपालिका-३०, कालोपुलस्थित जिल्ला कार्यालयबाट प्रारम्भ गरिएको उक्त अभियानको उद्घाटन सभापति गगन कुमार थापाले आफूले नै क्रियाशील सदस्यता लिएर गर्नुभएको थियो ।
दिउँसो १:०० बजे सुरु गरिएको कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीका सबै नेता तथा कार्यकर्तालाई जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्दै अभियानमा सक्रिय सहभागिता जनाउन आह्वान गर्नुभयो ।
उहाँले सदस्यता सम्बन्धी कुनै अन्योल वा जिज्ञासा भए केन्द्रीय कार्यालयमा सम्पर्क गरी स्पष्ट जानकारी लिन आग्रह गर्दै अनावश्यक हल्ला र भ्रम फैलाउने गतिविधि नगर्न सचेत गराउनुभयो ।
यो अभियान एक महिनासम्म सञ्चालन हुने जनाइएको छ, जसअन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक, तल्लो तहमा संगठनको सक्रियता अभिवृद्धि तथा जनाधार विस्तारमा विशेष जोड दिइनेछ ।
कांग्रेस नेताहरूका अनुसार काठमाडौंबाट सुरु भएको यो अभियान क्रमशः राष्ट्रव्यापी रूपमा विस्तार हुँदै आगामी निर्वाचनका लागि पार्टीको संगठनात्मक आधार मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा जिल्ला नेतृत्व, वडा प्रतिनिधि तथा पार्टीका विभिन्न तहका कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । अभियानले नेपाली कांग्रेसलाई अझ गतिशील, सुदृढ र जनमुखी बनाउने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा आदरणिय केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ, अजयबाबु शिवाकोटी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन,जिल्ला सभापति सबुज बानियाँ लगायतको उपस्थिति रहेको थियो ।