काठमाडौं l नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा आज ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ।
बैठकले पार्टी संगठन सुदृढीकरण, आन्तरिक व्यवस्थापन र आगामी महाधिवेशनलाई केन्द्रमा राख्दै महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकमा महामन्त्री गुरूराज घिमिरेले विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए भने गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमाथि गठित अध्ययन समितिले पेश गरेको प्रतिवेदनमाथि विस्तृत छलफल गरिएको थियो।
बैठकले नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति विश्वप्रकाश शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ भने निर्वाचन व्यूरोको संयोजकमा उपसभापति पुष्पा भुसाललाई जिम्मेवारी दिइएको छ।
यसैगरी, सदस्यता व्यवस्थापन केन्द्रीय समिति महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठन गरिएको छ, जसमा सहमहामन्त्रीद्वय योगेन्द्र चौधरी र प्रकाश रसाइली स्नेही सदस्य रहनेछन्।
संगठन परिचालन तथा समन्वय समिति पनि महामन्त्री गुरूराज घिमिरेको संयोजकत्वमा गठन गरिएको छ, जसमा बहादुरसिंह लामा र मुक्ताकुमारी यादव सदस्य रहेका छन्।
अन्य राजनीतिक दलहरूसँग संवाद विस्तार गर्ने उद्देश्यले अर्जुननरसिंह के.सी.को संयोजकत्वमा संवाद समिति गठन गरिएको छ भने मर्यादाक्रम निर्धारण समिति चिनकाजी श्रेष्ठको संयोजकत्वमा गठन गरिएको छ।
बैठकले “सार्वजनिक कार्यक्रम संचालन कार्यविधि-२०८३” प्रदेश र जिल्ला तहको सुझाव समेटेर जेठ १ गतेदेखि लागू गर्ने निर्णय पनि गरेको छ। सबैभन्दा महत्वपूर्ण रूपमा, पार्टीभित्र वृहत्तर एकता कायम गर्दै १५ औं महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न सभापति गगनकुमार थापालाई सम्पूर्ण तहमा संवाद गर्ने जिम्मेवारी प्रदान गरिएको छ।
बैठकमा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरूराज घिमिरेसहित केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए। अर्को बैठक वैशाख ३ गते दिउँसो १ बजे पुनः बस्ने मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।