काठमाडौं । वरिष्ठ पत्रकार उमेश चौहानले हिमालय टेलिभिजन र अनलाइनखबरको ग्रुप सम्पादकको जिम्मेवारी सम्हाल्दै दुवै माध्यमबीच ‘न्यूजरुम कन्भर्जेन्स’ (साझा सम्पादकीय) मोडलको औपचारिक सुरुवात गरेका छन् ।
यसअघि स्वतन्त्र रूपमा सञ्चालन हुँदै आएका यी प्लेटफर्महरू अब योजना, सामग्री उत्पादन र प्रस्तुतिमा समन्वय गर्दै डिजिटल युगअनुकूल एकीकृत ढाँचामा अघि बढ्ने भएका छन् ।
कान्तिपुर दैनिकका पूर्व प्रधान सम्पादक समेत रहेका चौहानले व्यवस्थापनले दिएको विश्वासप्रति आभार व्यक्त गर्दै उच्च ऊर्जा, निष्ठा र प्रतिबद्धताका साथ जिम्मेवारी निर्वाह गर्ने बताएका छन् ।

न्यूजरुमलाई केवल समाचार उत्पादन केन्द्रमा सीमित नराखी सार्वजनिक सेवा, उत्तरदायित्व र सुशासन परीक्षण गर्ने ‘पब्लिक सर्भिस ल्याब’ का रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
विश्वव्यापी रूपमा पत्रकारिता डिजिटल प्लेटफर्मतर्फ उन्मुख हुँदै गएको र अडियो-भिजुअल सामग्रीको प्रभाव बढ्दै गएको सन्दर्भमा यस सहकार्यलाई महत्वपूर्ण रणनीतिक कदमका रूपमा हेरिएको छ ।
सहकर्मीहरूको संयुक्त प्रयासले यस पहललाई प्रभावकारी, सशक्त र विश्वासिलो मञ्चमा रूपान्तरण गर्ने विश्वास व्यक्त गरिएको छ । यो कन्भर्जेन्सले नेपाली मिडिया क्षेत्रमा नयाँ ऊर्जा थप्दै पत्रकारितालाई थप गतिशील, समन्वित र दर्शक-केन्द्रित बनाउने अपेक्षा गरिएको छ, जसले समाचारको गुणस्तर र पहुँच दुवैलाई अझ विस्तार गर्नेछ ।