काठमाडौं l विवादास्पद व्यापारी दीपक भट्टसँग कथित सम्बन्ध सार्वजनिक भएपछि गृहमन्त्री सुधन गुरुङमाथि राजनीतिक तथा नैतिक दबाब तीव्र बनेको छ ।
उक्त विषयलाई लिएर जेनजी मुभमेन्टले गम्भीर चासो व्यक्त गर्दै निष्पक्ष छानबिनका लागि गुरुङलाई तत्काल पदमुक्त गर्न सरकारसँग आग्रह गरेको छ ।
सोमबार मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्यमा पदमा बहाल रहँदै आफ्नै विषयमा छानबिन हुनु स्वार्थको द्वन्द्व हुने र त्यसले अनुसन्धान प्रक्रियाको विश्वसनीयता कमजोर पार्न सक्ने उल्लेख गरिएको छ ।
निष्पक्षता र पारदर्शिताका लागि जिम्मेवार पदमा रहेका व्यक्तिले उच्च नैतिक मानक पालन गर्नुपर्नेमा जोड दिइएको छ । वक्तव्यमा सरकारलाई नियुक्ति र पदमुक्तिका निर्णयलाई हल्का रूपमा नलिन आग्रह गर्दै नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहितासहित कदम चाल्नुपर्ने बताइएको छ ।
राज्य सञ्चालनमा विश्वास कायम राख्न सुशासन र पारदर्शितालाई प्राथमिकता दिनुपर्ने सन्देश पनि दिइएको छ । जेनजी मुभमेन्टले जनादेशको सम्मान गर्दै कुनै पनि किसिमको अपारदर्शिता वा ढिलासुस्ती अस्वीकार्य हुने चेतावनी दिएको छ ।
पछिल्लो घटनाक्रमले सरकारको निर्णय क्षमता र जवाफदेहितामाथि थप परीक्षण खडा गरेको विश्लेषण भइरहेको छ ।