अर्घाखाँची l अर्घाखाँची जिल्लाका स्थानीय तहहरूको गत तथा चालु आर्थिक वर्षको कार्यप्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजनामा आइतबार सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालसहित जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित शाखाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा गत आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरूको समीक्षा गर्दै चालु वर्षको प्रगति, उपलब्धि र चुनौतीबारे गहन छलफल गरिएको थियो । सहभागीहरूले विकास निर्माणका काममा देखिएको ढिलासुस्ती, बजेट कार्यान्वयनमा आएका जटिलता, जनशक्ति अभाव तथा प्राविधिक समस्याहरूबारे आफ्ना अनुभव साझा गरेका थिए ।
छलफलका क्रममा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, पारदर्शिता कायम गर्ने र जनउत्तरदायी शासन प्रणाली सुदृढ गर्ने विषयमा विशेष जोड दिइएको थियो।
जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा सांसद भुसालले नरपानीस्थित चुनढुङ्गा खानी नक्कली कागजातका आधारमा सञ्चालन भएको भन्ने जानकारी आएको उल्लेख गर्दै सत्यतथ्य छानबिनपछि मात्र सञ्चालन गर्न आग्रह गरे ।
उनले स्थानीय तहहरूलाई योजनाहरू समयमै सम्पन्न गर्न, बजेट खर्च दर बढाउन तथा स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्न पनि सुझाव दिएका थिए ।
कार्यक्रमको निष्कर्षस्वरूप संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्यलाई अझ सुदृढ गर्दै विकास निर्माणका गतिविधिहरूलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको जिल्ला समन्वय प्रमुख जीवनारायण कोइरालाले जानकारी दिए ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी तथा छवटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले बजेट कार्यान्वयनको अवस्था प्रस्तुत गरेका थिए ।
साथै राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले तथा अन्य राजनीतिक दलका प्रतिनिधिहरूले पनि मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम जिल्ला समन्वय समितिका कर्मचारी विनोद कुँवरको सञ्चालनमा सम्पन्न भएको हो ।