बुटवल । वरिष्ठ पत्रकार तथा शिक्षाक्षेत्रका अग्रणी व्यक्तित्व डा. बालकृष्ण चापागाईं ‘पूर्व विशिष्ट विद्यार्थी’ का रूपमा सम्मानित हुनुभएको छ।
तिलोत्तमा-५, मणिग्राम, रुपन्देहीस्थित श्री गीर्वाण सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयको हिरक महोत्सव-२०८२ तथा ६०औँ वार्षिकोत्सव समारोहका अवसरमा उहाँलाई लुम्बिनी प्रदेश सरकारका भौतिक विकास मन्त्री भुमेश्वर ढकालको हातबाट उक्त सम्मान प्रदान गरिएको हो ।
विद्यालयले आफ्नो संस्थागत गरिमा तथा प्राज्ञिक उन्नयनमा पुर्याउनुभएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै डा. चापागाईंलाई सम्मानित गरेको हो ।
विशेषगरी ‘बौद्धदर्शन र सञ्चार’ विषयमा लुम्बिनी बौद्ध विश्वविद्यालयबाट विद्यावारिधि (PhD) हासिल गरी शैक्षिक तथा बौद्धिक क्षेत्रमा पुर्याउनुभएको योगदानलाई समारोहमा विशेष रूपमा उल्लेख गरिएको थियो।
करिब तीन दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै समाजमा सचेतना अभिवृद्धि, सत्यतथ्य सूचना प्रवाह र बौद्धिक बहसलाई सशक्त बनाउने कार्यमा उहाँको भूमिका उल्लेखनीय रहेको छ ।
साथै, शिक्षा र अनुसन्धानप्रतिको उहाँको समर्पणले नयाँ पुस्ताका विद्यार्थी तथा अनुसन्धानकर्तालाई निरन्तर प्रेरित गर्दै आएको वक्ताहरूले बताएका थिए ।
समारोहमा विविध सांस्कृतिक कार्यक्रम, झाँकी प्रदर्शन तथा पूर्व विद्यार्थीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । विद्यालय प्रशासनले यस्ता सम्मान कार्यक्रमले पूर्व विद्यार्थी र संस्थाबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ ।
डा. चापागाईंलाई प्राप्त यो सम्मान केवल व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण शिक्षाप्रेमी समुदायका लागि गर्वको विषय भएको स्थानीय बुद्धिजीवीहरूले बताएका छन् । उहाँको आगामी दिनहरूमा अझ उच्च सफलता र योगदानको कामना गर्दै सहभागीहरूले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।