पुरुषोत्तम सुवेदी, पश्चिम नवलपरासी । सीमावर्ती क्षेत्रका नागरिकहरूले भारतीय बजारबाट दैनिक उपभोग्य वस्तु ल्याउँदा भोग्दै आएको भन्सारसम्बन्धी समस्या समाधानका लागि पहल सुरु भएको छ।
संघीय सांसद विक्रम खनालले सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर, पश्चिम नवलपरासीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गोवीन्द खातीसँग भेटवार्ता गर्दै सीमावर्ती उपभोक्ताहरूको समस्या समाधानका लागि ध्यानाकर्षण गराउनुभएको हो।
पछिल्लो समय भारतबाट सामान ल्याउँदा भन्सार प्रावधानमा कडाइ गरिएपछि सीमावर्ती नागरिकहरूले दैनिक उपभोग्य वस्तु ल्याउन समेत कठिनाइ भोग्दै आएका छन्।
भन्सार दर र नियमनका कारण सामान्य नागरिकहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। यही अवस्थालाई मध्यनजर गर्दै सांसद खनालले कानुनको परिधिभित्र रही स्थानीय उपभोक्तालाई सहजता प्रदान गर्ने उद्देश्यले सुरक्षा निकायसँग समन्वय गरी सहजीकरणको पहल गर्नुभएको छ।
भेटका क्रममा उहाँले सीमावर्ती नागरिकहरूको दैनिकीमा परेको असरबारे स्पष्ट पार्दै आवश्यक सहजीकरणका लागि आग्रह गर्नुभयो। छलफलमा कानुनको पूर्ण पालना गर्दै सर्वसाधारणलाई सहजता दिने उपायबारे समेत विचारविमर्श भएको थियो।
सांसद खनालले दैनिक उपभोग्य वस्तुको आवागमनमा अनावश्यक झन्झट नहोस् भन्नेमा जोड दिनुभयो। यस पहलले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको दैनिकी केही सहज हुने अपेक्षा गरिएको छ।