काठमाडौँ । प्रतिनिधि सभाको बैठक कक्षभित्र अब मोबाइल प्रयोगमा कडाइ गरिने भएको छ।
प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको मस्यौदामा समावेश नयाँ व्यवस्थाअनुसार बैठकका क्रममा फोटो खिच्न, अडियो–भिडियो रेकर्ड गर्न तथा फोनमा कुरा गर्न प्रतिबन्ध लगाइएको छ।
नियमावलीको नियम २० अन्तर्गत ‘बैठकमा पालन गर्नुपर्ने आचरण’ सम्बन्धी उपनियम (ट) मा स्पष्ट रूपमा उल्लेख गरिएको छ कि बैठक कक्षमा प्रवेश गर्ने सदस्यहरूले आफ्नो मोबाइल फोन साइलेन्ट अवस्थामा राख्नुपर्नेछ।
साथै, बैठकको मर्यादा कायम राख्न कुनै पनि प्रकारको रेकर्डिङ वा दृश्य खिच्ने कार्य गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ। संसदको गरिमा, अनुशासन र गोपनीयता कायम राख्ने उद्देश्यले यस्तो प्रावधान ल्याइएको बताइएको छ।
पछिल्लो समय बैठकका दृश्यहरू अनधिकृत रूपमा सार्वजनिक हुने क्रम बढेपछि यसलाई नियन्त्रण गर्न नियम कडा बनाइएको स्रोतको भनाइ छ।
यो प्रस्तावित व्यवस्था लागू भएमा प्रतिनिधि सभा बैठकको आचरणमा थप अनुशासन आउने अपेक्षा गरिएको छ।