इमरान खान, कपिलवस्तु l कपिलवस्तु जिल्लाको तौलिहवामा बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले “म जिम्मेवार चालक” अभियान सञ्चालन गरेको छ।
सवारी साधनको चाप बढ्दै जाँदा दुर्घटनाका घटना पनि वृद्धि भएपछि लक्षित सचेतनामूलक कार्यक्रम अघि बढाइएको हो। अभियानअन्तर्गत ‘म जिम्मेवार चालक’ लेखिएको स्टिकर दुई पांग्रे, चार पांग्रे तथा अन्य सवारी साधनहरूमा टाँसिएको छ।
तौलिहवाको बहादुरगञ्ज जाने चोकबाट अभियान सुरु गरिएको हो। ट्राफिक प्रतिबद्धता जनाउँदै पम्प्लेट वितरण र स्टिकर टाँस्ने कार्यक्रम समेत गरिएको छ।
ट्राफिक प्रहरी कार्यालय तौलिहवाका प्रमुख प्रहरी नायब निरीक्षक विष्णु प्रसाद न्यौपानेको नेतृत्वमा सञ्चालन गरिएको अभियानमा मोटरसाइकल, बस, ट्र्याक्टर, टेम्पो, कार तथा टिप्पर गरी ७० वटा सवारी साधनमा स्टिकर टाँसिएको छ।
साथै, सर्वसाधारणलाई सचेत बनाउन पम्प्लेट वितरण गरिएको न्यौपानेले जानकारी दिए। उनका अनुसार अभियान सुरु गर्नु अघि नै ट्राफिक नियमबारे जनचेतना फैलाउन विभिन्न चोकहरूमा माइकिङ गरिएको थियो।
“सवारीको चापसँगै दुर्घटना पनि बढ्दै गएका छन्। यसको न्यूनीकरणका लागि चालकलाई जिम्मेवार बनाउन यो अभियान सञ्चालन गरेका हौँ,” उनले बताए।
न्यौपानेले चालकको सानो लापरवाहीले ठूलो दुर्घटना निम्त्याउन सक्ने भन्दै नियम पालना गर्न सबैलाई आग्रह गरे। उनले जिम्मेवार चालक बन्ने संस्कारले दुर्घटना नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
यसैबीच, ट्राफिक प्रहरीले तौलिहवाका विभिन्न चोकहरूमा पुगेर हेल्मेट अनिवार्य प्रयोग, मोटरसाइकल चालक र पछाडि बस्ने दुबैजनाले हेल्मेट लगाउने, सिटबेल्ट बाँध्ने तथा मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउने जस्ता विषयमा सचेतनामूलक सन्देश समेत दिएको छ।