काठमाडौं । नेपाली कांग्रेस भित्र पछिल्लो समय देखिएको आन्तरिक शक्ति सङ्घर्ष र १५औँ महाधिवेशनको बढ्दो सरगर्मीले पार्टीको भविष्यबारे व्यापक बहस सुरु भएको छ । विशेषतः बिमलेन्द्र निधि ले जनकपुरधाममा व्यक्त गरेको धारणा र महामन्त्री गगन थापा को तीव्र राजनीतिक सक्रियताले पार्टीभित्रको शक्ति समीकरणलाई नयाँ मोडतर्फ डोर्याएको विश्लेषण भइरहेको छ ।
नेता निधिले विशेष महाधिवेशनको अवधारणालाई अस्वीकार गर्दै १४औँ महाधिवेशन पक्षधर र विशेष महाधिवेशन पक्षधरबीच सहमतिमूलक संयुक्त कार्यसमिति गठन गरी १५औँ महाधिवेशनमा जानुपर्ने प्रस्ताव अघि सारेका छन् । उनको भनाइले कांग्रेसभित्र सहमति, सन्तुलन र साझा नेतृत्वको आवश्यकता झन् प्रस्ट पारेको छ ।
सभापति गगन थापा भने पार्टी रूपान्तरण, पुस्तान्तरण र परिणाममुखी राजनीतिका एजेन्डासहित अघि बढिरहेका छन् । युवा पुस्तामाझ उनको लोकप्रियता र परिवर्तनको सन्देशले कांग्रेसभित्र नयाँ आशा पैदा गरेको छ । परम्परागत शैलीभन्दा फरक ‘एक्सन ओरियन्टेड’ राजनीतिक दृष्टिकोणले कार्यकर्तामा उत्साह थपेको देखिन्छ ।
तर राजनीतिक विश्लेषकहरूका अनुसार यदि गगन थापाले आफूलाई स्वाभाविक सभापति दाबेदारका रूपमा अत्यधिक आक्रामक ढंगले प्रस्तुत गर्दै पुराना नेताहरूसँगको समन्वयलाई बेवास्ता गरे भने पार्टीभित्र ध्रुवीकरण बढ्न सक्छ । निधिले संकेत गरेझैँ, पार्टीका ठूलो हिस्साका प्रतिनिधि असन्तुष्ट रहेको अवस्थामा सबै पक्षलाई समेट्न नसकिए कांग्रेस दुई धारमा विभाजित हुने जोखिम पनि देखिन्छ ।
निधिको “हामी धेरै दिन पर्खिन सक्दैनौँ” भन्ने अभिव्यक्तिलाई धेरैले ‘चेक एन्ड ब्यालेन्स’ राजनीतिक सन्देशका रूपमा हेरेका छन् । सातै प्रदेशमा उनले थालेको संगठनात्मक अभियानले गगन थापाका लागि चुनौतीसँगै सहकार्यको अवसर पनि सिर्जना गरेको विश्लेषण भइरहेको छ । यस्तै, सदस्यता नवीकरण र संगठन विस्तारको विषयमा देखिएको मतभेदले जिल्ला तहसम्म अन्योल बढाउन सक्ने आँकलन गरिएको छ । एक पक्ष पुराना सदस्यताको निरन्तरतामा जोड दिइरहेको छ भने अर्को पक्ष नयाँ ऊर्जा सहित व्यापक सदस्यता विस्तारको पक्षमा देखिएको छ।
राजनीतिक वृत्तमा अब कांग्रेसको भविष्य सहमति र साझा नेतृत्वमै निर्भर रहने चर्चा हुन थालेको छ । आगामी निर्वाचनमा पहिलो शक्ति कायम राख्न तथा पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन गुटीय प्रतिस्पर्धाभन्दा संस्थागत एकता आवश्यक रहेको नेताहरूको बुझाइ छ ।
विश्लेषकहरूका अनुसार गगन थापाको भिजन, ऊर्जा र परिवर्तनको चाहना तथा बिमलेन्द्र निधिको अनुभव, सन्तुलन र संगठनात्मक पकडबीच साझा बिन्दु खोज्न सकिए कांग्रेसभित्र नयाँ राजनीतिक अध्याय सुरु हुन सक्छ । सबै पक्षलाई समेटेर संस्थागत नेतृत्व विकास गर्न सके पार्टीले पुनः राष्ट्रिय राजनीतिमा बलियो सन्देश दिन सक्ने विश्वास गरिएको छ ।