काठमाडौँ । देशको काठसंघीय राजधानी काठमाडौं महानगरपालिका वडा–२६ मा केहिदिन अगाडी कुटपिट भयो । गत असार १६ गते बिहान साढे २ बजे ओम्निया द क्लबमा राजेन्द्र गुरुङ, सुरेश खड्का कुटिए ।
उहाँहरुलाई पछिल्लो समय गुण्डाका रुपमा हिँडिरहेका सानुभाई भन्ने युवराज गुरुङको नेतृत्वमा रघु तामाङ, बिनोद तामाङ, कमल तामाङ, निरु भन्ने निरज गुरुङ, बिश्व तामाङ भन्ने बिसु तामाङ, शेरबहादुर पौडेल भन्ने शेरलाल पौडेल र विक्रम अधिकारीले क्लबमा छिरेर बोल्नै नहुने अपशब्दहरुले बिनाकारण गालि गलौज गरी हातपात, लछार पछार गरेको बताइन्छ।
गुण्डागर्दी शैलीको कुटपिटको भिडियो नै बाहिरिपछि कुटपिटमा संलग्न युवाहरुलाई प्रहरीले पक्राउ गरी मुद्दा चलायो । पक्राउ परेकामध्ये सानुभाइ यसअघि नुवाकोट प्रहरीमा हात हतियार तथा खरखजाना मुद्दा, महाराजगंज वृत्तमा ज्यान मार्ने उद्योग सम्बन्धि कसुर मुद्दा र दरबारमार्ग वृत्तबाट बैंकिङ कसुर सम्बन्धि कसुर मुद्दा चलेको प्रहरीले राखेको अभिलेखबाट देखिएको छ।
पेशेवर गुण्डागर्दी क्रियाकलापमा संलग्न देखिएपछि काठमाडौं प्रहरी कानुनी कारवाहीमा उत्रिएपनि काठमाडौंमा गुण्डागर्दी मौलाउँदैछ कि भन्ने आशंका बढ्न थालेको छ । गुण्डागर्दी हुर्किँदैछ भनेर जिल्ला प्रहरी परिसर काठमाडौंलाई झस्काउने अर्को घटना हो सामाखुसीको । जहाँ गुण्डागर्दी गर्ने कार्यमा संलग्न मानिसहरु समातिए । १७ असार बिहानको समयमा काठमाडौं २६ सामाखुशी चोकस्थित सेभेन प्लस सेभेन मोबाइल पसल अगाडि मोटरसाइकल चालक र कार चालकबीच भएको सामान्य विवादमा मोटरसाइकल चालकलाई मोबाइल पसलका संचालक टोखा १० बस्ने वर्ष ४२ को जीवन भन्ने टेकबहादुर चौलागाई समेतले कुटपिट गरियो।
सोही घटनाको बदला स्वरुप बेलुकाको समयमा मोटरसाइकल चालकको साथीहरु सामाखुशी बस्ने रुपन गुरुङसमेतको टोलीले टेकबहादुर चौलागाईलाई निजकै मोबाइल पसलमा आई कुटपिट गर्यो ।
उक्त झगडामा संलग्न दुवै पक्षले प्रहरी कार्यालयमा लिखित जाहेरी नदिएपनि तर प्रहरी आफैं अग्रसर भएर कानुनी दायरामा ल्यायो । यस्ता प्रकृतिका गुण्डागर्दी शैलीमा हुने झै झगडा कुटपिटका कारण समाजमा अशान्ति फैलने, शान्ति सुव्यवस्थामा असर पर्ने, सर्वसाधारण नागरिकहरुले असुरक्षित महशुस गर्ने भन्दै महाराजगंज वृत्तले घटनामा संलग्न दुवै नाइकेहरुलाई पक्राउ गरि अभद्र व्यवहार गर्न नहुने कसूर मुद्दा दर्ता गरि कारबाही गर्यो ।
सानो सानो समूहमा गुण्डागर्दीका घटना दोहोरिन थालेपछि यसलाई नियन्त्रण गर्न काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले नयाँ योजना अगाडि सार्नुभएको छ । गुण्डागर्दी पृष्ठभूमिका समूह तथा सदस्यहरुको अभिलेख राख्ने, यसका लागि सिंगो समाजलाई नै आह्वान बिक्षिप्त बनाउने एसपी कार्कीको तर्क छ।
समाजमा पछिल्लो समय अपराधिक घटनाहरु बढ्दै गएको भन्दै समाजको शान्ति सुरक्षाका लागि चुनौती बनेको नजिरका बीच एसएसपी कार्कीले ब्रोकन विन्डो सिद्धान्तलाई अनुशरण गर्दै अभिलेख संकलन थालेको जनाईएको छ । जसले गर्दा ब्रोकन विन्डो सिद्धान्तमा प्रारम्भमै आपराधिक क्रियाकलापलाई निरुत्साहित गर्ने विश्वास छ।