कपिलवस्तु – नेपाल अर्बुद रोग निवारण संस्था कपिलवस्तु शाखाको आयोजना तथा कपिलवस्तु नगरपालिकाको आर्थिक सहयोगमा एक विशेष ज्येष्ठ नागरिक सम्मान तथा आजीवन सदस्यता प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिकाको सभाहलमा आयोजित उक्त समारोहमा नगरभित्रका ६० जना ज्येष्ठ नागरिकहरूलाई दोसल्ला, सम्मान–पत्र, ग्लुकोज र ग्लास प्रदान गरेर आदरपूर्वक सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि एवं कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले ज्येष्ठ नागरिकहरूको सम्मान र सुरक्षा सुनिश्चित गर्नु समाजको सामूहिक जिम्मेवारी रहेको कुरामा विशेष जोड दिनुभयो।
सम्बोधनका क्रममा नगरप्रमुख पौडेलले आफू दिनभरि धेरै कार्यक्रमहरूमा सहभागी हुने गरे तापनि आफ्ना अग्रज आदरणीय व्यक्तित्वहरूसँग बिताउन पाएको यो पल जीवनकै सबैभन्दा महत्वपूर्ण र सुखद क्षण रहेको भन्दै खुसी व्यक्त गर्नुभयो। उहाँले ज्येष्ठ नागरिकहरूको अनुभव, योगदान र मार्गदर्शन समाजका लागि अमूल्य रहने उल्लेख गर्नुभयो।
यस्ता रचनात्मक कार्यक्रमहरूले ज्येष्ठ नागरिकहरू, विशेष गरी एकल महिलाहरूलाई आपसी संवाद गर्न, अनुभव आदानप्रदान गर्न र सामाजिक सम्बन्धलाई अझ बलियो बनाउन ठूलो अवसर प्रदान गर्ने उहाँको भनाइ थियो। कार्यक्रमको अन्त्यमा नगरप्रमुख पौडेलले यस पवित्र कार्यलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक धन्यवाद समेत ज्ञापन गर्नुभयो।