Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपालकै पहिलो ‘ISO Certified’ गाउँपालिका बन्ने अभियानमा रिब्दीकोट : 'चार वर्षमा निर्यात २३ करोडबाट ४१ करोड पुग्यो'


५, असार २०८३
  • 138
    SHARES
  • नेपालकै पहिलो ‘ISO Certified’ गाउँपालिका बन्ने अभियानमा रिब्दीकोट : 'चार वर्षमा निर्यात २३ करोडबाट ४१ करोड पुग्यो'

    बुटवल । पाल्पाको ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण रिब्दीकोट गाउँपालिकाले कृषि र पर्यटनलाई आर्थिक समृद्धिको मुख्य आधार बनाउँदै उल्लेखनीय उपलब्धि हासिल गरेको छ। पछिल्लो चार वर्षमा कृषिजन्य उत्पादन र निर्यातमा उल्लेखनीय वृद्धि गर्दै गाउँपालिकाले राष्ट्रिय स्तरमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको दाबी गरेको छ।

    नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएको चार वर्ष पूरा भएको अवसरमा मिसन लुम्बिनी डटकमसँगको विशेष कुराकानीमा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले कृषि, पर्यटन, सुशासन, सेवा प्रवाह तथा पूर्वाधार विकासका क्षेत्रमा रिब्दीकोटले ‘ब्रेक थ्रु’ हासिल गरेको बताउनुभयो।

    कृषिबाट समृद्धिको आधार निर्माण

    अध्यक्ष कार्कीका अनुसार रिब्दीकोटको आर्थिक समृद्धिको मूल आधार कृषि नै हो। यही मान्यतालाई केन्द्रमा राखेर गाउँपालिकाले विगत चार वर्षदेखि योजनाबद्ध रूपमा कृषि विकासमा लगानी गर्दै आएको छ। “हामीले सुरुदेखि नै ‘कृषि, कृषि र फेरि पनि कृषि’ भन्ने अवधारणाका साथ काम गर्‍यौँ,” उहाँले भन्नुभयो, “त्यसको प्रतिफल आज देखिन थालेको छ। रिब्दीकोटले कृषि क्षेत्रबाट राष्ट्रिय पहिचान स्थापित गर्न सफल भएको छ।”

    तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा रिब्दीकोटबाट २३ करोड ६० लाख रुपैयाँ बराबरका कृषि तथा पशुपालनजन्य वस्तु निर्यात भएका थिए। आर्थिक वर्ष २०८०/८१ मा यो रकम बढेर ३१ करोड ४ लाख रुपैयाँ पुगेको थियो भने गत आर्थिक वर्ष २०८१/८२ मा ४१ करोड रुपैयाँ बराबरको कृषिजन्य उत्पादन बाहिरिएको छ।

    उहाँका अनुसार अहिले गाउँपालिकाभित्र कृषि र पशुपालनमा दैनिक आठ घण्टा श्रम गर्ने नागरिकले प्रतिमहिना कम्तीमा २५ हजार रुपैयाँ तथा वार्षिक तीन लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने अवस्था सिर्जना भएको छ। “काम गर्ने इच्छाशक्ति भएका व्यक्तिका लागि पालिका भित्रै रोजगारी र आम्दानीको सुनिश्चितता भएको छ,” उहाँले भन्नुभयो।

    रासायनिक र विषादीमुक्त रिब्दीकोट निर्माणको अभियान

    रिब्दीकोट गाउँपालिकाले कृषिलाई उत्पादनमुखी मात्र नभई स्वस्थ र वातावरणमैत्री बनाउने नीति पनि अवलम्बन गरेको छ। गाउँपालिकाको लक्ष्य रासायनिक मल र विषादीको प्रयोग न्यूनीकरण गर्दै पूर्ण रूपमा जैविक उत्पादनतर्फ अघि बढ्नु रहेको अध्यक्ष कार्की बताउनुहुन्छ।

    यसका लागि गाउँपालिकाको मुख्य लगानीमा हेफर प्रोजेक्ट नेपाल र जलेश्वर बहुउद्देश्यीय सहकारी संस्थासँगको सहकार्यमा रिब्दीकोट प्राङ्गारिक मल कारखाना स्थापना गरिएको छ। कारखानाबाट उत्पादित मलको बिक्री वितरणसमेत सुरु भइसकेको छ।

    बाँझो जमिनको उपयोगलाई प्रोत्साहन गर्न गाउँपालिकाले “एक बोट, सयको नोट” अभियान सञ्चालन गरिरहेको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा मात्र किसानहरूको मागअनुसार ४० हजार फलफूल तथा जडीबुटीका बिरुवा रोप्ने कार्यक्रम अघि बढाइएको छ। अध्यक्ष कार्कीका अनुसार यो अभियानले कृषि उत्पादन बढाउनुका साथै वातावरण संरक्षण र किसानको आम्दानी वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

    नेपालकै पहिलो ‘ISO Certified’ गाउँपालिका बन्ने लक्ष्य

    कृषि र पूर्वाधार विकाससँगै रिब्दीकोटले सार्वजनिक सेवा प्रवाहलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने महत्वाकांक्षी योजना पनि अघि सारेको छ। गाउँपालिकाले आफूलाई नेपालकै पहिलो ‘ISO Certified’ गाउँपालिका बनाउने अभियान सञ्चालन गरिरहेको छ।

    “हाम्रो लक्ष्य रिब्दीकोटलाई नेपालकै पहिलो ‘ISO Certified’ गाउँपालिका बनाएर अन्तर्राष्ट्रिय स्तरको सेवा प्रवाह सुनिश्चित गर्नु हो,” अध्यक्ष कार्कीले भन्नुभयो। उहाँका अनुसार विगत एक वर्षदेखि ISO प्रमाणिकरणका लागि आवश्यक मापदण्डहरू पूरा गर्ने अभियान सञ्चालन भइरहेको छ। यसको केन्द्रमा सेवा प्रवाहको गुणस्तर, प्रशासनिक प्रणाली, कार्यालय व्यवस्थापन तथा नागरिकमैत्री वातावरण रहेका छन्।

    “नागरिक कार्यालयमा प्रवेश गर्नेबित्तिकै यहाँको वातावरण, सूचना प्रणाली, सेवा प्राप्त गर्ने प्रक्रिया र कर्मचारीको व्यवहारले अन्तर्राष्ट्रिय स्तरको अनुभूति दिनुपर्छ भन्ने हाम्रो सोच हो,” उहाँले बताउनुभयो। ISO प्रमाणिकरणका लागि आवश्यक अधिकांश आधारभूत मापदण्ड पूरा भइसकेको र केही प्राविधिक प्रक्रिया सम्पन्न हुनासाथ गाउँपालिका प्रमाणित हुने चरणमा पुगेको उहाँको भनाइ छ।

    धार्मिक, प्राकृतिक र कृषि पर्यटनको अपार सम्भावना

    अध्यक्ष कार्कीका अनुसार रिब्दीकोटमा धार्मिक, प्राकृतिक र कृषि पर्यटनका तीनवटै क्षेत्रको व्यापक सम्भावना रहेको छ। कृषि पर्यटनअन्तर्गत नमुना टनेल, प्राङ्गारिक मल कारखाना, अकबरे खुर्सानी तथा सुन्तला खेती अवलोकन गर्न देशका विभिन्न जिल्लाबाट नियमित रूपमा अध्ययन टोली आउने गरेका छन्। महिनामा पाँचदेखि सातवटा टोलीले रिब्दीकोटको कृषि मोडल अवलोकन गर्ने गरेका छन्।

    धार्मिक पर्यटनका दृष्टिले ऐतिहासिक भैरवस्थान मन्दिर र जलेश्वर मन्दिरको संरक्षण तथा विकास कार्य तीव्र रूपमा अघि बढाइएको छ। त्यसैगरी प्राकृतिक पर्यटनका हिसाबले रिब्दीकोटको भूगोल अत्यन्तै आकर्षक रहेको उहाँ बताउनुहुन्छ। “एउटै डाँडामा बसेर दक्षिणतर्फ तराईका समथर भूभाग र उत्तरतर्फ एकैपटक १७–१८ वटा हिमशृङ्खला अवलोकन गर्न सकिन्छ,” उहाँले भन्नुभयो।

    यस सम्भावनालाई उपयोग गर्दै तराई क्षेत्र तथा भारतको गोरखपुरसम्मका पर्यटकलाई आकर्षित गर्ने गरी पर्यटन पूर्वाधार निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो।

    पूर्वाधार विकासमा उल्लेखनीय फड्को

    पर्यटन र कृषिको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा पनि गाउँपालिकाले उल्लेखनीय प्रगति गरेको छ। विगतमा वर्षायाममा अवरुद्ध हुने वडा केन्द्रसम्मका सडक अहिले अधिकांश अवस्थामा बाह्रै महिना सञ्चालन हुने अवस्थामा पुगेका छन्। तीनमध्ये दुई वडा मुकामसम्म कालोपत्रे सडक पुगेको छ भने अर्कोमा ग्राभेल सडक निर्माण गरिएको छ।

    प्रदेशस्तरीय खेलकुद मैदान, स्वास्थ्य चौकी, वडा कार्यालय भवनलगायतका भौतिक पूर्वाधार निर्माणमा समेत गाउँपालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

    सेनकालीन इतिहास बोकेको रिब्दीकोट

    रिब्दीकोट केवल विकास र सम्भावनाको भूमि मात्र होइन, पाल्पाको ऐतिहासिक पहिचानसँग जोडिएको महत्वपूर्ण केन्द्र पनि हो। इतिहासअनुसार सेन राजाहरूले पाल्पामा आफ्नो शासनको सुरुवात रिब्दीकोटबाट गरेका थिए। त्यसपछि पूर्णाकोट हुँदै तानसेन पुगेका सेन शासकहरूले करिब ४९६ वर्ष राज्य सञ्चालन गरेका थिए, जसमध्ये आधाभन्दा बढी समय रिब्दीकोटबाटै शासन चलाइएको थियो।

    बुटवलबाट करिब ३८ किलोमिटर दूरीमा रहेको रिब्दीकोट भविष्यमा तानसेनसरह वा त्योभन्दा आकर्षक ऐतिहासिक तथा पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको अध्यक्ष कार्कीको विश्वास छ।

    संघीयताको मर्मअनुसार अधिकार हस्तान्तरण आवश्यक

    स्थानीय सरकार सञ्चालनका क्रममा संघीयता कार्यान्वयनमा अझै केही व्यवहारिक चुनौती रहेको अध्यक्ष कार्कीको धारणा छ। उहाँका अनुसार संविधानले स्थानीय तहलाई एकल तथा साझा अधिकार प्रदान गरे पनि व्यवहारमा संघीय सरकारले स्थानीय सरकारलाई पूर्ण रूपमा स्वायत्त सरकारको रूपमा स्वीकार नगरेको अनुभूति हुने गरेको छ।

    “स्थानीय सरकारलाई आफ्नो जंगल, जमिन, जनशक्ति र जलस्रोतको उपयोग गरेर विकास गर्ने पर्याप्त अधिकार र स्वतन्त्रता आवश्यक छ,” उहाँले भन्नुभयो। “अधिकार प्रत्यायोजन र स्रोत व्यवस्थापनमा देखिएका अवरोध हटाउन सके संघीयताको वास्तविक उद्देश्य अझ प्रभावकारी रूपमा पूरा हुनेछ।”

    सुशासन र संस्थागत क्षमतामा सुधार

    अध्यक्ष कार्कीका अनुसार प्रशासनिक सुधार, वित्तीय अनुशासन, राजस्व व्यवस्थापन र सुशासनका क्षेत्रमा पनि रिब्दीकोटले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA), प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कन तथा वित्तीय व्यवस्थापनका विभिन्न सूचकमा गाउँपालिकाले उत्कृष्ट अंक प्राप्त गरेको छ। बेरुजु न्यूनीकरणमा समेत यस वर्ष उल्लेखनीय सुधार भएको उहाँले बताउनुभयो।

    “समग्रमा रिब्दीकोट सुशासन, सेवा प्रवाह, कृषि, पर्यटन र पूर्वाधार विकासका क्षेत्रमा नयाँ उदाहरण स्थापित गर्दै समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढिरहेको छ,” अध्यक्ष कार्कीले भन्नुभयो।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend