रोल्पा । वीरजङ्ग स्मृति कप खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता काठमाडौंमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को मुख्य सहयोग तथा नेपाल गणतान्त्रिक खेलकुद महासंघ केन्द्रिय समितिको आयोजनामा वीरजङ्ग स्मृति कप खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको हो।
खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता भदौं २७ देखी ३० सम्म हुने नेपाल गणतान्त्रिक खेलकुद महासंघका महासचिव बिनोद चन्द ठकुरीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने समुहले ५ लाख, द्वितीय हुने समुहले २ लाख ५० हजार, तृतीय हुने समुहले १ लाख र सान्त्वना हुने समुहले ५० हजार पुरस्कार प्राप्त गर्नेछन भने प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन ।
प्रतियोगितामा उत्कृष्ट स्पाइकर, क्विकर, ब्लकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान ५–५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालन गर्दा कुल अनुमानित रकम २८ लाख खर्च हुने अनुमान गरिएको छ भने पुरस्कार रकममा मात्र ९ लाख ५५ हजार रकम खर्च हुने महासघंका अध्यक्ष जयन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । भलिबल प्रतियोगिताको आयोजक नेपाल गणतान्त्रिक खेलकुद महासंघले भलिबल प्रतियोगिताको माध्यमबाट नयाँ प्रतिभाको खोजी एवं विकासमा जोड दिदै आएको सन्दर्भमा नेपाल सरकारले भलिबल खेललाई राष्ट्रिय खेलको रुपमा मान्यता प्रदान गरि थप उत्साह प्रदान गरेको अध्यक्ष चन्दको भनाई छ ।
भलिबल खेलको माध्यमबाट राष्ट्रिय स्वाधीनता, आपसी सद्भाव कायम गर्दै राष्ट्रिय पहिचान कायम गर्ने भन्दै खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गरि खेलाडीको वृद्धि विकास गर्दै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन थप योगदान पुग्ने कुरामा आयोजक बिश्वस्त रहेको उहाँले बताउनुभयो ।
को थिए वीरजङ्ग?
स्वर्गीय चन्द्र बहादुर चन्द (वीरजङ्ग) नेकपा कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य समेत रहनुभएको थियो । वीरजंगको २०७८ असोज २८ गते मुटुरोगको उपचारको क्रममा भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा निदन भएको थियो । चन्द विद्यार्थी कालमा पञ्चायती व्यवस्थाका विरुद्धको आन्दोलनमा सहभागी हुँदै, नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेकपा (एकता केन्द्र), नेकपा (माओवादी), १० बर्षको महान जनयुद्ध, २०६२–०६३ पछी माओवादी पार्टी नेतृत्वमा आएको विचलनको विरुद्ध दुईलाइन संघर्ष र नेकपा पार्टी निर्माण एवं एकीकृत जनक्रान्तीमा ऐतिहासिक, जुझारु र साहसिक भुमिका निर्वाह गर्दै आउनु भएको थियो ।
२०१६ साल फागुन ७ गते रोल्पा जिल्ला इरिबाङ गाविस साविकको–६ र अहिलेको परिवर्तन गाउँपालिका–३ केवरीमा जन्मिनु भएको थियो । चन्द्र बहादुर चन्द (वीरजङ्ग) नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) का सहोदर जेठो दाइ हुनुहुन्थ्यो।