काठमाडौँ - युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई रोक्न नसकिने प्रतिक्रिया दिएका छन्।
मंगलबार वैदेशिक रोजगार विभागको अनुगमनका क्रममा सञ्चारमन्त्रीसँग कुरा गर्दै मन्त्री यादवले विश्वव्यापीकरणको युगमा वैदेशिक रोजगारीलाई पूर्णरूपमा रोक्न सम्भव नरहेको बताएका हुन्। वैदेशिक रोजगारलाई तत्काल रोक्नु उचित नहुने भन्दै उनले बरु यसलाई सुरक्षित बनाउनेतर्फ केन्द्रित हुने उनले बताए।
‘वैदेशिक रोजगारीलाई तुरुन्तै रोक्न सकिने अवस्था पनि छैन, न त त्यसो गर्नु उचित हुन्छ। आजको विश्व ‘ग्लोबल भिलेज’ बनेको छ, जहाँ मानिसहरूको एक देशबाट अर्को देशमा आवतजावत स्वाभाविक प्रक्रिया हो’, उनले भने ‘त्यसैले हाम्रो प्राथमिकता वैदेशिक रोजगारी रोक्ने होइन, सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने हो ।
हामी राम्रो श्रम बजारको खोजीमा पनि छौँ, जहाँ नेपाली श्रमिक शोषणमा नपरुन्। उचित तलव, सुरक्षित कार्यस्थल, आवास तथा आधारभूत जीवनस्तरका सुविधा प्राप्त गर्न सकून्।’
वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले युरोपेली मुलुकजस्ता सुरक्षित र उच्च प्रतिफल दिने नयाँ गन्तव्यहरूको खोजी गरिरहेको बताए। ‘युरोपलगायतका नयाँ र सुरक्षित श्रम गन्तव्यका विषयमा पनि काम भइरहेको छ। यो क्षेत्रलाई मर्यादित बनाउन सबै पक्षको साथ र सहयोग आवश्यक छ’, उनले भने, ‘जनताले छिटो परिणामको अपेक्षा गर्नुभएको छ, र हामी पनि त्यसका लागि निरन्तर प्रयासरत छौँ।’
मन्त्री यादवले आन्तरिक श्रम बजारमा रहेका समस्या समाधानका लागि पनि मन्त्रालयले नयाँ योजना अघि सारेको बताए। उनले देशभित्रै कार्यरत श्रमिकहरूले उचित पारिश्रमिक नपाउने र श्रम शोषणमा पर्ने गरेको गुनासो सम्बोधन गर्न श्रम विभागले छिट्टै अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याउने बताए।