काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने भएका छन्। इतर समूहकाे राष्ट्रिय भेला यही साउन २९ गतेबाट काठमाडाैँमा हुँदै छ।
उक्त भेला पार्टी विभाजनका लागि नभएकाे भन्दै नेता कोइराला सहभागी हुने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए। उनका अनुसार भेलामा सहभागी भएर कोइरालाले पार्टी एकताका लागि आह्वान गर्नेछन्।
इतर पक्षले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा साउन २९ देखि भदौ १ गतेसम्म काठमाडौँमा राष्ट्रिय भेलाको आयोजना गर्दै छ। भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा पनि सहभागी हुने बताइएको छ। त्यसका लागि उनी साउन २८ गते स्वदेश फर्किदै छन्।
यसअघि भेला आयाेजक समितिका संयाेजक शशांकले आफूहरूकाे कदममा शेखरको पनि सहमति रहेको बताएका थिए।